काठ्माडौं, १७ चैत २०८१ । भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन्। दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गर्नुका साथै लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका-१६ प्रेम कुमार महतो, भारतको बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका-६ की सुशीला कुमाल, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका-३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका-७ लाम्पन्टारकी चित्र माया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका-१६ की सुस्मिता बराल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो। कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले पक्राउ परेकाहरू कोटेश्वरमा बस्दै आएकाहरू रहेको बताए।