झापा, १५ चैत २०८१ । डेलिभरी हुनै लागेकी गर्भवती श्रीमतीलाई हत्या गरेर गाड्ने इलाम फाकफोकथुम– ३ सल्लेरीका उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत १ गते घरबाट आधा घण्टाको दुरीमा फाकफोकथुम गाउँपालिका-२ धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा २५ वर्षीय गिरीले १९ वर्षीया श्रीमती विमला कट्टेललाई हत्या गरी गाडेका थिए । तीन दिनपछि विमलाले बच्चा पाउने मिति रहेको थियो । तर , श्रीमानले आमा र गर्भको बच्चा दुवैको हत्या गरेर कसैले थाहा नपाउने गरी गाडिदिए ।
इलामको देउमाई नगरपालिका जितपुर माइत भएकी विमला चैत १ गतेदेखि बेपत्ता भएकी थिइन् । आफ्नी बुहारी हराएपछि विमलाका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए । वेपत्ता बिमलाको खोजी गर्नेक्रममा प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी हराएको नभई गायब बनाएको ठहर गरेको थियो । विमला हराएको १५ दिनमा पुरेको अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शव गाडिएको अवस्थामा आज फेला परेको हो । फाकफोकथुम गाउँपालिका-२ धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा महिलाको शव फेला परेको जनाइएको छ । प्रहरीले शव उत्खनन् गरी पोस्टमार्टमका लागि धरान पठाएको छ ।
विमलाका श्रीमान् उमेशले आफूले मारेर गाडेको बयान दिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उमेश जेसीबी चालक हुन् । विमला र उमेशबीच राम्रो सम्बन्ध रहेको थिएन । इलाममै काम गर्दा पनि उमेश घर बाहिर नै बस्ने गरेका थिए ।