Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, १४ चैत २०८१ । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो। २ बजे पनि बस्न नसकेपछि शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको संघीय संसद सचिवालयले जनाएको छ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि विपक्षी दलहरूले सदन र सडकबाट विरोध जनाएका छन्। विपक्षी दलहरूले घिसिङलाई बर्खास्त गर्नुपर्ने सरकारको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन्।

प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध कायम राख्ने उनीहरूको अडान छ। विपक्षी दलको अडानका कारण बुधबार र बिहीबार संघीय संसदका दुवै सदनका बैठक स्थगित भएका हुन्। आज प्रतिनिधिसभा बैठक बस्न सकेन भने राष्ट्रिय सभा बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरूका सांसदले अवरोध जनाएपछि स्थगित भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

 

तपाईको प्रतिक्रिया