Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

झापा, ८ चैत २०८१ । करोडौ रकम ठगेर भाग्ने श्रृंखलाबद्ध घटनाका क्रममा बिर्तामोडका अर्का व्यवसायी पनि ठगी गरी फरार भएका छन् ।

बिर्तामोड-४ स्थित एक किलोमिटरमा आफ्नै घरमा मनकामना हार्डवेयर पसल संचालन गर्दै आएका विक्की रौनियार करोडौको ठगी गरी फरार भएका हुन् ।

करिव दश दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएको पीडितहरुले बताएका छन् । आफूलगायत धेरैजनाको रकम ठगेर रौनियार बेपत्ता भएको गरामनीकी मनिशा शेखले बताइन् । उनले आफ्नो ३ लाख १५ हजार र आफ्नो भेना वासिफ शेखको २ लाख ८५ हजार रुपैयाँ ठगी गरेको बताइन् । उनले अन्य धेरै जनाको करोडौ रकम ठगेर रौनियार बेपत्ता भएको जानकारी दिइन् । हार्डवेयर पसल संचालन गरेको उनको घरजग्गा बैंकले लिलामी गर्न लागेको जनाइएको छ ।

रकम ठगी गरी रौनियार बेपत्ता भएको कुरा पीडितहरुले सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् । धेरै जनाको रकम ठगी गरी रौनियार भागेको कुरा जानकारी भएपनि प्रहरीकहाँ उजुरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले रकम डुबेकाहरुले केही दिनअघि रौनियारको खाली घरमा तोडफोड गर्न जाँदा प्रहरीले रोकेको जानकारी दिए ।

बिर्तामोडका अर्का व्यवसायी रौनियार ठगी गरी भागेको कुरा आफूले सुनेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । क–कसको के कति रकम डुबेको भनेर जानकारी नभएको उनले बताए ।

बिर्तामोडमा ठगी गरी भाग्ने क्रम बढ्दै गएको छ । सामान्य ठगीका घटनामात्र नभएर सुनियोजित ढंगले करोडौ ठगी गर्ने षडयन्त्रहरु बिर्तामोडमा भइरहेको विभिन्न घटनाले पुष्टि गरेको छ । ठगी गरेर भाग्नेहरु सामान्य व्यक्तिहरु होइनन् , व्यावसायिक र सामाजिक हिसावले गन्यमान्यहरु नै छन् । जसका कारण आर्थिक कारोवारमा सचेत हुनुपर्ने अवस्था देखिएको छ ।

बिर्तामोडमा बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिंकका प्रोप्राइटर चुडामणि पौडेल करोडौं रकम ठगी गरी वेपत्ता भएका छन् । गत साउन २० गतेदेखि उनी अचानक परिवारसहित वेपत्ता भएका हुन् । बिर्तामोडमा प्रायः सबैले चिनेका पौडेल व्यवसायिक , सामाजिक र कलाकारिताको आडमा धेरैलाई ठगी गर्न सफल भए ।

त्यस्तै करिव दुई अर्ब रकम ठगी गरी नरेन्द्र मैनाली पनि वेपत्ता भएको महिनौ भयो । जसका कारण बीएण्डसी अस्पतालका संस्थापक महेन्द्र प्रसाईले झुन्डिएर आत्महत्या गर्नुपर्यो । ऋण र हाइड्रोपावर कम्पनीमा लगानी गरी करिव ६ करोड रुपैयाँ डुबाएपछि त्यही पीरले प्रसाईले मैनालीको घरमै गएर भदौ ७ गते आत्महत्या गरेको खुलेको छ ।
प्रसाईंसंगै बिर्तामोड र आसपासका अन्य व्यवसायीको समेत दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर फरार मैनाली काठमाडौमा लुकेर बसेको आशंका गरिएको छ ।

त्यस्तै भद्रपुर रोडमा ग्लोवल बुक्स एण्ड स्टेशनरी सञ्चालन गर्दै आएका नरेश शर्मा र हेयर एण्ड डर्मा केयर (कपाल उमार्ने) अस्पतालका सञ्चालक मनोराम चिमरिया करोडौ रकम अपचलन गरेर भागेको पीडितहरुले बताएका छन् ।

शर्माले व्यवसायीकै करोडौैं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने चिमरियाले धेरैजसो मिटरव्याज र वित्तीय संस्थाहरुबाट करोडौं रकम लिएको बुझिएको छ । शर्मा भारतको राजस्थानतिर भागेको आशंका गरिएको छ । आर्थिक कारोवार बिग्रिएपछि उनीहरु सम्पर्कबिहीन छन् । शर्मा बिर्तामोडका पुराना स्टेशनरी व्यवसायी हुन् ।

त्यस्तै बिर्तामोड–२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएको करिव एक वर्ष भइसक्यो । पौडेल स्थानीयहरुको पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगेर सम्पर्कबाहिर छन् । पौडेलविरुद्ध पीडितहरुले मुद्दा दायर गरेका छन् । तर पनि उनी एक वर्षयता भेटिएका छैनन् । ५३ जना पीडितहरुले आफूहरुको तीन करोड ७१ लाख रुपैयाँ ठगी गरेको भन्दै पौडेलले लगेको रकमको सूची नै सार्वजनिक गरेका छन् । त्यस्तै बिर्तामोड –५ मा व्यवसाय गरेर बसेका पंकज अग्रवाल पनि करोडौं रुपैयाँ ठगेर फरार छन् । साबिक मेचीका चार जिल्लामा उनले चामलको व्यापार गरिरहेका थिए । बिर्तामोडमा व्यवसाय गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रसम्म उनले कारोबार गरेका थिए ।

 

तपाईको प्रतिक्रिया