झापा, ५ चैत २०८१ । करिव एक महिनाअगाडि गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका इलाम नगरपालिका वडा नं. ४ बस्ने ६७ वर्षीय देउप्रसाद चाम्लिङ राईको हत्या भएको पुष्टि भएको छ ।
गत फागुन ३ गते आफ्नो घरदेखि अन्दाजी ३० मिटर पश्चिम गोरेटो बाटोमा उनी मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायब उपरीक्षक मानबहादुर राईसहितको टोली खटिएर घटनास्थलको मुचुल्कासमेत गरी शवलाई इलाम अस्पतालमा ल्याई पोस्टमार्टम गरिसकेपछि सदगतको लागि आफन्तले लिएर गएका थिए ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट बिशेष अनुसन्धान टोली गठन गरिएको थियो । सो टोलीले घटनालाई सुक्ष्म एवं बिस्तृत अनुसन्धान गर्दा कर्तव्य गरी मारेको तथ्य खुल्न आएको इलाम प्रहरीले जनाएको छ । घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरी परिचालन गरी खोजतलास गर्नेक्रममा चैत ३ गते आइतवार सन्दकपुर गाउँपालिका वडा नं। १ छरछरेबाट फेला पारी पक्राउ गरिएको डीएसपी मानबहादुर राईले बताए ।
पक्राउ पर्नेहरुमा सन्दकपुर-१ छरछरेका ३२ वर्षीय राम राई र सोही ठाउँका २९ वर्षीय बिरेन भनिने बिरेन्द्र राई रहेका छन् । पक्राउ परेका अभियुक्तहरुलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा हिजो जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान कार्य भइरहेको डीएसपी राईले जानकारी दिएका छन् ।