विराटनगर, २४ फागुन २०८१ । विराटनगरको बाल सुधारगृहभित्र शुक्रबार साँझ दोहोरो झडप हुँदा ३ जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा साँझ पौने ८ बजेतिर झडप भएको प्रहरीले जनाएको छ ।
सुधारगृहका प्रमुख मिलन चौहानले झडपमा परेर घाइते भएकाको अवस्था सामान्य रहेको र उपचार भइरहेको जानकारी दिए । घाइते ३ जना नै २२ वर्षका छन् । २ जना पाँचथर र १ जना सुनसरीका हुन् । चौहानका अनुसार घाइते हुनेमा कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अदालतले सजाय सुनाएकाहरु छन् ।
कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ । तर, सुधारगृहमा राखिएका बालक अहिले युवा भइसकेका छन् । गृह प्रमुख चौहानले सुधारगृहमा २ पक्षबीच झडप भए पनि कारण खुलिनसकेको बताए ।
‘एक्कासि झडप भयो । ३ जना घाइते भए । तर, घटनाको कारण थाहा छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने । घटनाको अनुसन्धान गर्न मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं खटिएका छन् । चिमरिया नेतृत्वको टोलीले विवाद समाधानका लागि समन्वय गरेको चौहानले बताए ।
विवाद समाधान भएपछि मात्रै घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाउन सम्भव भएको उनको भनाइ छ । उनका अनुसार सुधारगृहको क्षमता ५० जनाको हो । तर, शुक्रबार २ सय ४९ जनालाई राखिएको छ ।
सुधारगृहभित्र रहेकामध्ये १८ वर्ष कटेर बालिग भएकाहरुको संख्या धेरै छ । १८ वर्षमाथिका १ सय २४ जना छन् । उनीहरु बालक हुँदै कानुनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन् । तर, आवश्यक कानुनको अभावले बालिग भइसके पनि सुधारगृहभित्रै राख्ने गरिन्छ । ‘युवा अवस्थामा पुगेकालाई बालकहरुसँगै राखिएको छ । क्षमताभन्दा धेरै छन् । सुधारगृहभित्रको अवस्था समस्याग्रस्त छ,’ चौहान भन्छन् ।अन्नपूर्णपोष्टबाट