Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, २० फागुन २०८१ । झापाको मेचीनगरमा नयाँ प्रजातिको बैजनी बुंगेचरा भेटिएको छ । नेपाल पन्छीविद् संघका अनुसार झापाको मेचीनगर नगरपालिका-६, काँकरभिट्टामा समुद्रसतहबाट १३३ मिटर उचाइमा पर्पल रम्प सनबर्ड फेला परेको हो ।

नेपालका चराविद् देवेन्द्रकुमार खरेलले चरा अवलोकनको ७ फागुनमा बिहान ८:३० बजेको समयमा मेचीनगर क्षेत्रको एक आवासीय भवन परिसरमा रहेको एभोकाडो तथा सितलचिनीको रुखमा पहिलो पटक उक्त चराको भालेपोथी देखेका हुन् ।

त्यसयता लगातार दुई दिनसम्म सोही ठाउँमा यो चराको अभिलेख भएको संघले जनाएको छ । संघका अनुसार पहिलो पटक चराविद् खरेलले देखेको उक्त चरा त्यसपछि चराविद्हरू अनिश तिमसिना, चक्र तिमसिना र शंकर लुइँटेलले पनि अवलोकन गरेका थिए ।

९ फागुनमा सो चराको यकिन पुष्टिका लागि खरेलले नेपाल बर्ड रेकर्ड कमिटी (एनबीअरसी) मा विवरणसहित चराको तस्वीरहरू पठाएका थिए ।

एनबीअरसीमा प्राप्त विवरणका आधारमा अध्ययन गर्दा उक्त चराको अंग्रेजी नाम पर्पल रम्प सनबर्ड र वैज्ञानिक नाम लेप्टोकोमा जेइलोनिका  (Linnaeus, 1766) भएको संघको भनाइ छ ।

संघका अनुसार यो चराको नेपाली नाम बैजनी बुंगेचरा राखिएको छ । पासेरीफर्म्स  (Passeriformes) वर्गको नेक्टारिनिडेई  (Nectariniidae) परिवारमा पर्ने यो चरा बंगलादेश, भारत, म्यानमार र श्रीलंकामा आवासीय रूपमा पाइने सोही क्षेत्रमा प्रजनन पनि गर्ने संघले जनाएको छ ।

विश्वमा यस चराको दुई उपप्रजाति एलजेड फ्लाभिभेन्ट्रिस (L. z. flaviventris) र एलजेड जेइलोनिका  (L. z. zeylonica) अभिलेख भएको संघले जनाएको छ । नेपालमा अभिलेख भएको यो चरा एलजेड जेइलोनिका उपप्रजातिको हो । योसँगै नेपालमा चरा प्रजातिको संख्या ८ सय ९८ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया