Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, १३ फागुन २०८१ । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा पक्राउ परेका हुन् । उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन् ।

उनीविरुद्ध पीडित बालिकाका आफन्तले जाहेरी दिएका थिए । जाहेरीमा गत पुसदेखि पटक–पटक ती विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ । गत माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ । डीएसपी सुवेदीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

गत ७ फागुनमा पक्राउ परेका उनीमाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।

 

तपाईको प्रतिक्रिया