राजविराज, १० फागुन २०८१ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किने क्रममा नेपाली तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
नम्बर खुल्न नसकेको भारतीय नम्बरको स्कार्पियो शुक्रबार अबेर राति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको कञ्चनरुप नगरपालिका-७ का वडाध्यक्ष समानन्द चौधरीले बताए। विपरीत दिशाबाट गइरहेको ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कारर्पियो ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा स्कार्पियोमा सवार सप्तरीको कञ्चनरूप नगरपालिका-७ की ६४ वर्षीया लिलावती चौधरी, ६५ वर्षीय परशुराम चौधरी, वडा नम्बर ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजु सुनसरीको कुशहा गाउँपालिका-१ की समतोलियादेबी यादवको मृत्यु भएको छ।
सोही गाडीमा सवार लिलावतीका पति कञ्चनरुप नगरपालिका-१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालु देवी यादव, वडा नम्बर ५ का जितु यादव, मुकेश यादव, उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन्। उनीहरुलाई प्रहरीले गोरखपुरस्थित जिल्ला अस्पताल पठाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कञ्चनरुप नगरपालिका(७ का वडाध्यक्ष समानन्द चौधरीले शव ल्याउन तीनवटा एम्बुलेन्स त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए। शनिबार मृतक परशुरामका छोरा, लिलावतीका छोरा र हरीहरवतीका परिवारका सदस्य एम्बुलेन्स लिएर गएको वडा अध्यक्ष चौधरीले बताए।