Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, ७ फागुन २०८१ । जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी प्रवक्ताको रूपमा एक वर्षको कार्यकाल बिताएर भर्खरै सरुवा भएका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरूमा विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

काठमाडौंको जनसेवा वृत्तमा सरुवा भएका चन्दले सबैप्रति हार्दिक आभार व्यक्त गरेका हुन् । उनले भनेका छन् ‘ जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी प्रवक्ताको रूपमा एक वर्षको अवधिमा रहँदा मलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा विशेष धन्यवाद ज्ञापन गर्दछु । मेरो झापा बसाइँको क्रममा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्नुहुने कोशी प्रदेश सरकार, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा, राजनीतिक दल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखज्यू, सशस्त्र प्रहरी बल लगायत सरकारी निकायहरू, समाजसेवी, विभिन्न संघ–संस्था उद्योग–व्यवसायीमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। साथै जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू एवम् सक्कल दर्जाका सम्पूर्ण प्रहरीमा समेत धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

झापामा एक वर्षअघि आएका चन्द अपराध अनुसन्धानमा अब्बल सावित भएका थिए । प्रहरी संगठनभित्र स्वच्छ छवि र विषयविज्ञको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल प्रहरी नायव उपरीक्षक चन्दले झापामा रहँदा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले झापाली आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीको साथ र सहयोगकै कारण झापामा अपराध न्यूनीकरणमा आफूहरु सफल बनेको उल्लेख गरेका छन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिकसँग हातेमालो गर्दै समुदाय साझेदारीअन्तर्गत विभिन्न कार्यक्रमहरूलाई प्रहरी प्रवक्तासमेत रहेका चन्दले निरन्तरता दिएका थिए । झापामा भएका हत्या, चोरी, दुर्घटनालगायतका अपराध तथा राजनीतिक समूहहरूले गरेका आन्दोलनलाई समाधान गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी नायव उपरीक्षक चन्दले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले झापा बसाइँको क्रममा सहयोग गर्ने सबैको सहयोग, सद्भाव र माया मनमा लिएको भन्दै आफू जहाँ भएपनि झापा बसाइँका क्रममा आफूले सिकेका ज्ञान र अनुभवहरूलाई प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना डिएसपीको काज सरुवा गरेको हो । रिक्त रहेका कार्यालयहरूमा काज सरुवा भएको हो । चन्दसंगै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाको पनि सरुवा भएको छ । लामाको मानव स्रोत विकास विभागमा सरुवा भएको हो । उनको ठाउँमा राजन लामा आउने भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्का आउने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया