झापा, ४ फागुन २०८१ । झापाको अर्जुनधारामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-७ स्थित मधुगिता क्रसर उद्योगमा काम गर्ने मजदुरको मृत्यु भएको हो । टिपरको ठक्करबाट हल्दिबारी गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय मोहन किस्कुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आज(आइतबार) साँझ ५ः४५ बजेको समयमा मधुगिता क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टिपरले मिक्सगिटी अनलोड गरी अगाडी बढ्ने क्रममा किस्कुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटना बारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। टिपर चालक मोरङ उर्लाबारी नगरपालिका-२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।