Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

इलाम, २९ माघ २०८१ । इलाममा छोरा-बुहारीले मिलेर आफ्नै बुबाको हत्या गरेका छन् । इलाम सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको घरमै हत्या भएको हो । प्रहरीका अनुसार उनको शव सोमबार बिहान ११ बजेतिर उनकै घरको भुइँतलाको बीचको कोठामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायत फेला परेको जानकारी दिए । कोठाभित्र रगत जमेको देखिएका थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतककै छोरा–बुहारीसहित छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतककै छोरा २९ वर्षीय एडवड राई तथा पत्नी २६ वर्षीया मालती तामाङ राई छन् । उनीहरूसहित छिमेकीहरू २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोइरालासमेतको विशेष अनुसन्धान टोली र प्रहरी प्रदेश कार्यालय धरान केनाई शाखाबाट टोली खटिएर घटनाको सूक्ष्म एवं विस्तृत अनुसन्धान गरेको थियो । जसबाट कर्तव्य गरी मारेको तथ्य खुल्न आएको थियो । सोमवार साँझ सूर्योदय नगरपालिका वडा नं.११ सुन्तलेको विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया