Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

इलाम, २९ माघ २०८१ । मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनमा उल्लेखित कसुर मध्ये दफा ३ र ४ को उपदफा (१) को खण्ड (क) र (ग) मा उल्लेखित कसुर गर्ने कसुरदारलाई सोही ऐनको दफा १५ को उपÞदफा(१) को खण्ड (क) र (ग) मा निश्चित अवधिको कैद, जरिवाना तथा कैदको सजाय हुने व्यवस्था छ ।

तर पनि मानव तस्करहरूले व्यापार वा घुमफिरका नाममा महिला र बालबालिकालाई भारतीय कोठी र खाडी मुलुकमा लैजाने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेका हुन ।
खुला सीमाको फाइदा उठाएर वैदेशिक रोजगारी, आफन्त भेटघाटलगायतको बहाना बनाउँदै पशुपतिनगरबाट हरेक वर्ष मानव बेचबिखन मौलाइरहेको छ । इलाम मात्र नभई यो नाकाबाट अन्य जिल्लाका नारीलाई अवैध ढङ्गले भारतलगायतका अन्य देश पु¥याउने गरिएको मानव बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालले जनाएको छ ।

तर, वर्षै देखि यो तथ्य बाहिर आइरहेपनि नियन्त्रणको प्रयास भने सफल हुन नसकेको हो । केही सरकारी र गैरसरकारी सङ्घ–संस्थाले पीडितलाई उद्धार गर्ने गरे पनि पीडकहरू वर्षौंदेखि उम्किरहेका छन् । महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालले देशका विभिन्न सिमानाकामा आफ्नो कार्यालय राखी मानव बेचबिखनलाई न्यूनीकरण गर्ने काम गरे पनि यो बेचिने क्रम भने नरोकिएको देखिएको छ ।

विभिन्न जिल्लाबाट मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारतीय क्षेत्रमा पु¥याएको पाइन्छ ।

कोसी प्रदेश पहरी कार्यालयको आठ आर्थिक वर्ष (२०७४–०७५, २०७५–०७६, २०७६–०७७, २०७७– ०७८, २०७८–०७९, २०७९–०८०, २०८०–०८१ र २०८१–०८२) को मानव बेचबिखन तथा ओसारपसारको तथ्याङ्कलाई हेर्दा पूर्वी नाकाबाट दुई सय ४२ जनाको बेचबिखन भएको थियो । कोसी प्रदेशका उदयपुर, झापा, मोरङ, सुनसरी, खोटाङ र इलामका नागरिक मानव बेचबिखनका पर्ने गरेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७४–०७५ देखि आर्थिक वर्ष २०७९–०८० मा काशी प्रदेश पहरी कार्यालयले मानव बेचबिखनविरुद्धका १ सय ७७ थान मुद्दा अदालतमा दर्ता गरेको थियो । जसमध्ये १ सय ६६ ओटा मुद्दा अदालतबाट फैसला भएका छन् । सो अवधिमा १ सय ७५ जना महिला, ४८ जना बालिका, दुई जना बालक मानव बेचबिखनमा परेका थिए । मानव बेचबिखनमा पुरुषकै संलग्नता बढी देखिन्छ । सो अवधिमा पूर्वी नाकाको प्रयोग गरी मानव बेचबिखनमा २ सय १५ जना पुरुष र ८८ जना महिला सक्रिय भएको देखिन्छ ।

आर्थिक वर्ष २०८०–०८१ र २०८१–०८२ मा मानव बेचबिखनका १७ वटा मुद्दा दर्ता भएको कोसी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ । दुई आर्थिक वर्षमा मोरङमा पाँच, सुनसरीमा पाँच, झापा दुई, उदयपुर चार र इलामबाट एक गरी १७ वटा मुर्दा दर्ता भएको कोसी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक भीम बहादुर दहालले जानकारी दिए । उक्त मुद्दामा २३ जना पुरुष र नौ जना महिला गरी ३२ जना पक्राउ परेका छन् ।

अनौपचारिक केन्द्र इन्सेकले देशको पूर्वी नाकाहरू मानव बेचबिखन गर्ने समूहको रोजाइमा पर्दै आएको जनाएको छ । सन् २०२३ मा ओसारपसारका घटनामा २५ जना बालिका, बेचबिखन प्रयासमा १३ जना महिला र ओसारपसारमा २६ जना महिला परेको इन्सेक अभिलखमा छ । कोसी प्रदेशका उदयपुर, झापा, मोरङ, सुनसरी, खोटाङ र इलामका नागरिक मानव बेचबिखन तथा ओसारपसारमा पर्ने गरेको उल्लेख छ ।

मानव बेचबिखन विरुद्धको तथ्याङ्क सहकार्य सीडीटीसीका अनुसार सन् २०२४ मा मात्र विश्वभर २ लाख ६ हजार पाँच सय ४९ मानव बेचबिखनका घटनाहरू भएको पाइन्छ । जसमा एक सय ९० देशका नागरिकहरू पीडित र प्रभावित भएका छन् भने एक सय ९४ देशमा शोषण भएको देखिन्छ ।

खुला सिमानाको फाइदा उठाउँदै मानव तस्करी
मानव बेचबिखन विरुद्ध काम गर्दे आएको माइती नेपालले खुला सिमानाको फाइदा उठाउँदै मानव तस्करीमा दरिएको बताउँछन् । माइती नेपाल इलामका संयोजक होम ढकालका अनुसार ‘भारतसँगको सीमा खुला रहेकाले युवक र युवतीहरूलाई नै भारततिर लैजान दलालहरू सफल हुँदैछन्,’ संयोजक ढकालले भने, ‘पुरुषहरूलाई मृगौला विक्री गराउन र महिलालाई होटेलका कोठरीहरूमा लैजाने गरेको पाइएको छ ।’ इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा मात्र होइन, पश्चिमका धादिङ, सिन्धुपाल्चोक, कैलालीलगायत जिल्लाबाट पनि पूर्वकै नाका प्रयोग गर्ने गरेको पाइन्छ ।

ताप्लेजुङदेखि झापासम्म भारत जोडिएको भू–भाग पूर्वमा साढे ५२ किलोमिटर छ । यो भू–भाग सबै खुला रहेकाले पनि तस्करहरूलाई सजिलो भएको हो । सीमावर्ती क्षेत्रमा सयौँ सडक र गोरेटाहरू रहे पनि सुरक्षा निकायको उपस्थिति हुन नसक्दा मानव बेचबिखनको सङ्ख्या बढेको हो । नेपाल–भारत सीमाको एकदेखि अर्को सीमास्तम्भ बीचमा २ सय ५ वटासम्म गोरेटो रहेको र यी क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो नबनाएसम्म मानव बेचबिखन नरोकिने स्थानीय बताउँछन् ।

इलाममा चालु आर्थिक वर्षमा मानव बेचविखन सम्बन्धी प्रहरीको तथ्याङ्कमा देखिँदैन । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक, सूचना अधिकारी मानबहादुर राईले चालु आर्थिक वर्षमा मानव बेचबिखनमा जिल्लामा तथ्याङ्क छैन भनेर खुसी हुने अवस्था थाहा नभएको बताउँछन् । खुला सिमानाको प्रयोग गरेर पनि मानव बेचबिखन गरिरहेको हुनसक्ने भन्दै प्रहरीकोमा उजुरी अथवा गुनासो नआएको हुन सक्छ, उनले भने, सीमा नाकामा माइती नेपाल र प्रहरीको संयुक्तरुपमा सुरक्षा जाँच भइरहेको हुन्छ त्यहाँ शङ्का लागे अनुसन्धान हुने गर्दछ ।’

मानव बेचबिखनको समस्या गम्भीर भएको भनिए पनि जिल्ला प्रहरी कार्यालयमा निवेदन चाहिँ ज्यादै कम सङ्ख्यामा मात्र आएको राईले बताए । ‘समयमै प्रहरीमा सूचना आउन नसकेकाले पीडितले उम्किने मौका पाएको हुनसक्छ,’ यो विषयमा प्रहरी अनुसन्धान गरिरहेकै हुन्छ ।’

झापाको काँकडभिट्टा र मोरङको रानी–जोगवनी नाकालाई मानव तस्करहरूले फरक फरक रूपमा प्रयोग गर्ने गरेका छन् । रोजगारीका लागि जानेहरूलाई मानव तस्करहरूले रानी–जोगबनी नाकाबाट भारत पु¥याउने गरेका हुन । जोगबनी प्रवेश गर्ने बित्तिकै भारतका विभिन्न सहर जाने रेल छुट्ने भएकाले मानव तस्करहरूले किनमेलका नाममा महिला र बालबालिकालाई भारतका विभिन्न सहरमा पु¥याउन गरेका छन् । नेपाल भारत खुला सीमा नाकाको कारण र खेतको बाटो भएर भारत प्रवेश गर्दा सिधा भारतीय चोक वा बजारमा पुगिने भएकाले मानव तस्करहरूले रानी–जोगबनी नाकालाई प्रयोग गर्ने गरेको पाइन्छ ।

मानव तस्करहरूले व्यापार वा घुमफिरका नाममा झापाको काँकडभिट्टा नाका भएर भारत पु¥याउने गरेका छन् । काँकडभिट्टामा नेपाली बस्ती र भारतको पानी ट्याङ्कीमा समेत नेपाली बस्ती भएका कारण मानव तस्करहरूले काँकडभिट्टा नाकाको प्रयोग गरी भारत प¥याउने गरेको अध्ययनले देखाएको छ । काँकडभिट्टादेखि ४५ किलोमिटर पूर्वमा खाल पाडामा रेड लाइट एरिया भएकाले मानव बेचबिखनका लागि काँकडभिट्टा नाकाको बढी प्रयोग हुने गरेको छ ।

खुला सिमाना, परम्परागत सम्बन्ध, पारिवारिक, सांस्कृतिक तथा भौगोलिक निकटता र विद्यमान कानुनी व्यवस्थाले दुई देशबिचको आवतजावतलाई नियमन गर्ने कार्य चुनौतीपूर्ण देखिन्छ । यही सहजताको दुरुपयोग गरी नेपालीहरू ठुलो सङ्ख्यामा भारतीय बजारमा बेचिन पुग्दछन् । दुवै देशको सिमानामा सीमा सुरक्षा र नियमनका लागि उल्लेख्य मात्रामा चेकपोस्टको व्यवस्था र सुरक्षाकर्मी परिचालन गरिए तापनि मानव बेचबिखन नियन्त्रणमा निकै चुनौती रहेको छ । झापा, इलाम, मोरङ, सुनसरी, लगायतका जिल्लाहरूका सिमानाका निगरानी केन्द्रहरूमा मुख्य गरी रातीको समयमा समेत निगरानी बढाउनु पर्ने अवस्था छ ।

बालिका नै पीडित
देशभित्र मानव बेचबिखन र ओसारपसारका घटनामा बालिका नै बढी हुने गरेका छन् । प्रहरीले उद्धार गरेकोमा र पीडित हुनेमा बालकहरू निकै न्यून छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार डिस्को, मसाज सेन्टर, डान्स बारजस्ता रात्रिकालीन व्यवसायमा उनीहरूको श्रम र शारीरिक तथा यौन शोषण भइरहेको देखिन्छ ।’

पीडकहरूले यस्ता बालबालिकालाई डर त्रास देखाउन र फकाउन पनि सजिलो मान्ने र रात्रिकालीन साथै मनोरञ्जनको क्षेत्रमा किशोरीहरूको इच्छा विपरीत प्रयोग र शोषण बढिरहेको पाइएको छ । ब्युरोका अनुसार यस्ता घटनामा बढी जसो बालिका नै पीडित हुने गरेका छन् । बालकको सङ्ख्या न्यून छ ।

मनोरञ्जनका लागि मानव बेचबिखन
नेपालका प्रमुख सहरहरूमा बढ्दो सहरीकरण सिर्जित मनोरञ्जन व्यवसायले श्रमिकको आवागमन, एजेन्टको खुला गतिविधिले बेचबिखनको जोखिम बढ्दो छ । त्यस्तै, बसाइँ सराइ तथा वैदेशिक रोजगारका सन्दर्भमा पनि विभिन्न प्रकृतिका मानव ओसारपसार र बेचबिखन भइरहेको पाइन्छ ।

बढ्दो प्रविधिको प्रयोग, इन्टरनेट आदि सुविधाका कारण साइबर क्राइम र बेचबिखनको जोखिम उच्च देखिएको छ । मौसम परिवर्तन तथा प्राकृतिक प्रकोपको प्रभावले समाजमा असुरक्षित बसाइँ सराइको सृजना गर्दछ । यसबाट खास गरी महिला र बालबालिका बढी प्रभावित छन् ।

मानव बेचबिखन र ओसारपसारको दृष्टिमा वयस्क मनोरञ्जन व्यवसाय थप एक चुनौतीका रूपमा विश्वसामु देखा परेको छ । मनोरञ्जन तथा व्यवसायमा उच्च यौनजन्य हिंसाका क्रियाकलाप हुने गरेको तथ्य कम उमेरका किशोरीको उपयोगमा रहेको पाइन्छ ।

श्रमिकको खुला आवागमन, अन्तर्राष्ट्रिय मनोरञ्जन बजारसँगको सहज सम्पर्क र सञ्जाल, आन्तरिक र बाह्य एजेन्टको खुला गतिविधि, बेचबिखनकर्ताको सञ्जाल, खुला सिमाना, प्रविधिको बढ्दो प्रयोग, इन्टरनेट लगायतका सुविधाका कारण नेपाली महिला तथा किशोरीलाई देशभित्र र अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा उपयोग गर्ने क्रम बढ्दै गएको छ ।

क्याबिन रेस्टुरेन्ट, दोहोरी साँझ, डान्स बार, मसाज सेन्टर, पार्लर जस्ता मनोरञ्जन केन्द्रमा यौन शोषणका गतिविधिहरू बढ्दै गएको पाइन्छ । आर्थिक बाध्यतामा परेका कतिपय व्यक्तिहरूलाई मानव अङ्ग तस्करहरूले ललाई फकाई झुक्क्याएर, अप्ठ्यारोमा पारेर वा धम्क्याएर अङ्ग बिक्री गर्ने गर्दछन् ।राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया