Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, १४ माघ २०८१ । झापा दमक– ५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेललाई दुर्घटना गराई फरार भएका ट्रक चालक ६७ दिनपछि सवारी साधनसहित पक्राउ परेका छन् ।

बशिष्ठ आश्रम खरेल प्रवर्द्धन समितिका पूर्व कार्यसमिति सदस्य , क्षेत्र नं ५ का पूर्व संस्थापक अध्यक्ष, कुल मन्दिर लखनपुरका संस्थापक तथा दाता ,सिताराम मन्दिर कोटीहोमका भवन निर्माणकर्ता खरेललाई गत मंसिर ६ गते बिहान करिव ५ः३५ बजे बाटोमा हिड्दै गर्दा को १ ख ४१४२ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक दमक नगरपालिका वडा नं।९ बस्ने ३१ वर्षीय युबराज तामाङ फरार भएका थिए । पूर्वपश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्पपूर्व सडक किनारामा लडेर अचेत अवस्थामा खरेल फेला परेका थिए । उनलाई उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि परिवारले घरमै ल्याएर राखेका थिए । गत मंसिर २३ गते राति १०।२९ बजे उनको मृत्यु भएको हो ।

परिवार र आफन्तले सवारी दुर्घटनाबाटै मृत्यु भएको भन्दै पटक पटक प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदासमेत प्रहरीले सवारी दुर्घटना हो कि होइन भनेर यकिन गर्न सकिरहेको थिएन । खरेलको टाउकोमा चोट देखिएको थियो । प्रहरीका अनुसार सीसीटीभीको अभावमा दुर्घटना भनेर ठम्याउन गाह्रो भएको थियो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घटनाको प्रारम्भिक अनुसन्धानमा सवारी दुर्घटना भएको देखिएको थियो । पीडितको जाहेरीका आधारमा घटनापश्चात् फरार रहेका को १ ख ४१४२ नम्बरको मिनी ट्रकका चालक तामाङलाई हिजो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई तामाङमाथि सवारी ज्यान मुद्धामा अनुसन्धान कार्य जारी रहेको जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया