काठमाडौँ, ९ माघ २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ । भोलि बिहान १० बजे अदालत उपस्थित हुने गरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतले जनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए । बिहीबार उनको बयान सकिएको छ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ। लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए।