काठ्माडौं, ८ माघ २०८१ । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
सभापति पोखरेलका अनुसार मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाइएको हो ।
सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाइ सय रुपैयाँले बढाएपछि त्यसको मार उपभोक्ताले खेपिरहेका छन् । निर्माण व्यवसायीहरुले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरेका छन् । उद्योग मन्त्रालयले विवाद समाधानको पहल गरे पनि त्यो अझै बल्झँदै गएको छ ।