Online Bichar
शुक्रबार, जेठ ३१, २०८२ | Friday, June 13, 2025

काठ्माडौं, ३ माघ २०८१ । पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए।

पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर घर भई बौद्ध बस्ने ३१ वर्षीय सरोज कटुवाल छन्।

उनीहरू छुट्टाछुट्टै मुद्दामा पक्राउ परेका हुन्। तर अपराधको प्रकृति भने एउटै रहेको ब्युरोले जनाएको छ।

कार्कीले सामाजिक सञ्जालमार्फत चिनेकी एक जना युवतीसँग प्रेम गरेका थिए। सम्बन्धमा बस्नेक्रममा उनले तस्बिर तथा भिडिओहरू खिचेका थिए।

तर सम्बन्ध बिग्रिएपछि भने पीडितका आफन्त तथा साथीहरूलाई तस्बिर भिडिओ पठाएर चरित्र हत्या गरेको आरोप छ।

त्यस्तै कटुवालले पनि एक जना महिलासँग सम्बन्ध राख्दा ती महिलाको अनुमति बिनानै अश्लिल भिडिओ तथा तस्बिरहरू खिचेको आरोप छ।

त्यसरी खिचिएका सामग्री उनले पीडितकी बहिनीलाई पठाएर चरित्र हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया