Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

परासी, २८ पुष २०८१ । नवलपरासीको प्रतापपुरमा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षिकाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालाको युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीलाई शिक्षिका सञ्जु चौधरीले पिट्दा आँखामा गम्भीर चोट लागेको छ।

मुद्दा दायर भएपछि शिक्षिका फरार छन्। पक्राउ पुर्जी लिएर फरार शिक्षिकाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए। घटना मंसिर १८ गतेको हो। मिलापत्र गर्न लागेको अवस्थामा मात्र घटना बाहिरिएको प्रहरीले जनाएको छ।

त्यसपश्चात मात्र उनीमाथि मुद्दा दायर गरिएको डीएसपी बोहराले बताए। शिक्षिका चौधरीमाथि ‘कुटपिट अंगभंग’ अभियोगमा मुद्दा चलाइएको छ।

विद्यालयमा दुईजना साथीहरू झगडा गरेको र छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हान्दा आँखा फुटेको बालकका बुबा नरेन्द्रप्रसाद चौधरीले बताए। ‘उपचारको क्रममा चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएका छन्। छोराको जीवन नै बर्बाद हुनेभयो’, चौधरीले भने।

बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासी र भैरहवा आँखा अस्पताल हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो। सुरुमा विद्यालयले उपचारमा लागेको रकम दिए पनि मुद्दा प्रक्रिया अघि बढेपछि दिन छाडेको पीडित परिवारको भनाइ छ।

तपाईको प्रतिक्रिया