Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

काठमाडौं, ११ पुष २०८१ । शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज हिउँदे मौसमको विशेष बुलेटिन २ जारी गर्दै देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने जानकारी दिएको हो।

पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावका कारण भोलि अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ।

महाशाखाले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सबैमा अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया