Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

९ पुष २०८१ । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघको पहिलो हप्तादेखि सुरु गर्ने तयारी भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सभाको अधिवेशन माघ पहिलो हप्ता बोलाइने बताएका हुन् ।

उनले प्रदेश सभालाई आवश्यक बिजनेस दिनका लागि एक वटा विधेयक संसदमा दर्ता भएको र अन्य ३ वटा विधेयक मन्त्रीपरिषदबाट पारित गरेर सो समयावधिसम्ममा संसद् सचिवालयमा दर्ताका लागि लगिने बताए । ‘हामीले प्रदेश सभाको अधिवेशन सुरु हुने बेलासम्ममा कम्तीमा ४ वटा विधेयक संसद् सचिवालयमा दर्ता गर्छौ,’ भण्डारीले भने ।

यस्तै सरकारले यसअघि जारी गरेको अध्यादेशको प्रतिस्थापन विधेयकहरू पनि संसद्को हिउँदे अधिवेशनमै लगिने उनले जानकारी दिए । प्रदेश सभाको बजेट अधिवेशन गत असोज ४ गतेदेखि अन्त्य भएको थियो ।
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने गत असोजमा आएको बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको काम अगाडि नबढेको, विस्थापितले राहत नपाएको, पराजितहरूले बजेट पुनरावलोकनको माग गरेको, प्रदेशको पहिलो लगानी सम्मेलनको तयारी फितलो भएको, मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण काण्डमा सर्वसाधारणलाई थुनेको लगायतका विषयमा छलफल गर्न तत्काल संसद्को अधिवेशन आव्हान हुनुपर्ने माग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया