काठमाडौं, ९ पुष २०८१ । भक्तपुरको बालकोटमा सोमबार बिहान मृत भेटिएका खोटाङका कूलप्रसाद आचार्य र कान्छा छोरा प्रविण आचार्यको हत्या उनकै जेठा छोरा मिलन आचार्यले गरेको खुलेको छ। हत्या लगत्तै फरार रहेका मिलनले मंगलबार प्रहरीसमक्ष आत्मसमपर्ण गरेका छन्। उनले प्रहरी वृत्त महाराजगञ्ज पुगेर बाबु र भाइको हत्या गरेको स्वीकार गरेका छन्। मिलनले मंगलबार बिहान १० बजेतिर प्रहरी वृत्त महाराजगञ्ज पुगेर आत्मसमर्पण गरेका हुन्।
उनले डम्बेल र सिलौटोले हानेर बाबु र भाइको हत्या गरेको प्रहरीसामु स्वीकार गरेका हुन्। प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा आवेशमा आएर घटना घटाएको उनले प्रहरीलाई बताएका छन्। पारिवारिक स्रोतका अनुसार मिलन एक वर्षदेखि डिप्रेसनमा थिए।
कार्यालयको कामले ६ दिनअघि काठमाडौं आएका कूलप्रसाद र उनका कान्छा छोरा प्रविण सोमबार बिहान मृत फेला परेका थिए। घटनालगत्तै उनका जेठा छोरा मिलन फरार थिए।
रूपाकोट मजुवागढी-१ खोटाङ घर भएका कुलप्रसाद जिल्ला हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख हुन्। उनका दुई छोरा प्रविण र मिलन भक्तपुरको बालकोटमा बसेर पढ्दै थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेले दुईवटा फरक फरक कोठामा आर्चायका बाबु-छोरा मृत भेटिएको जानकारी दिएका थिए। उनीहरूको टाउकोको पछाडि र कानमा गहिरो चोट देखिएको छ । आर्चाय परिवारले चार वर्षदेखि उक्त कोघरमा कोठा लिएर बस्दै आएका थिए।
मिलन लोकसेवा आयोगको तयारी गरिरहेका थिए भने प्रविनले भीएस निकेतनमा बीएस्सी अध्ययन गर्दै आएका थिए। बाबुछोराको शरीरमा चोटैचोट देखिएको र उक्त कोठा बाहिरबाट ताला लगाएको अवस्थामा रहेकाले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान थियो।