Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौँ, ३ पुष २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले शंकरप्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका छन् । त्यस्तै राष्ट्रपति पौडेलले मलेसियाका लागि पनि नेत्रप्रसाद तिम्सिनालाई राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेललेनेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई भारत र तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालले लगातार दोस्रो पटकका लागि शर्मालाई भारतको राजदूतमा पठाउने निर्णय गरेको थियो । त्यसका लागि भारत सरकारलाई पत्राचार गरिएको ७८ दिनपछि ‘एग्रिमो’ प्राप्त भएको हो ।

शर्मा २०७८ चैतदेखि २०८१ असारसम्म नेपालका लागि भारतमा राजदूत थिए । चारवर्षे कार्यकाल पूरा नहुँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठ अन्तिममा ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्दा त्यसमा शर्मा पनि परेका थिए ।

तर लगत्तै सत्ता समीकरणमा फेरबदल भयो र कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले साउन १४ मा शर्मालाई पुनः भारतका लागि राजदूत सिफारिस गर्‍यो । सरकारले शर्मासँगै १९ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले असोज ३ मा राजदूतको सिफारिस अनुमोदन गरेको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले असोज ११ मा भारतसँग शर्माका नाममा सहमति मागेको थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतले मंसिर २८ मा ‘एग्रिमो’ पठाएको छ ।

शर्माको पहिलो कार्यकालमा पनि तीन महिनापछि मात्र भारतले ‘एग्रिमो’ पठाएको थियो । त्यस अगाडि नीलाम्बर आचार्यका लागि ‘एग्रिमो’ पठाउन भारतले दुई महिना लगाएको थियो ।

शर्माको ‘एग्रिमो’ आएपछि परराष्ट्रले नियुक्ति तथा शपथको प्रक्रियाका लागि राष्ट्रपति कार्यालयलाई पत्राचार गरेको छ । पद तथा गोपनीयताको शपथग्रहणपछि शर्मा नयाँदिल्ली जानेछन् ।

 

तपाईको प्रतिक्रिया