Online Bichar
शनिबार, माघ ०५, २०८१ | Saturday, January 18, 2025

२७ मंसिर २०८१ । इलामको कन्याममा निर्माण गरिएको नेपालकै पहिलो चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ । चियाको राजधानी मानिने इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चियाबगान भित्र निर्माण गरिएको चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले बिहीबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका हन् ।

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७७ मा सुरु गरेको होटल, सेमिनार हल, क्याफे सहितको चिया परीक्षण केन्द्र २१ करोड ६७ लाख नौ हजार पाँच सय २६ रुपियाँको लगानीमा आर्थिक वर्ष २०८०–०८१ मा सम्पन्न भई उद्घाटन गरिएको सूर्योदय नगरपालिकाका इन्जिनियर दिपेश आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रमा चिया अनुसन्धानका मेसिन ल्याउन बाँकी छ ।
केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उक्त चिया परीक्षण केन्द्र कोशी प्रदेश सरकारकै गौरवको आयोजना भएको बताए । उनले चियाको बजारीकरणका लागि उक्त केन्द्र कोसेढुंगा साबित हुने बताए । मुख्यमन्त्री कार्कीले भने, ‘चियामा चौतर्फी समस्या आइरहेको बेला निर्माण भई सञ्चालन भएको केन्द्रले विदेशी वायर ल्याएर सोझै चिया बिक्री गर्न सक्छ।’

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनालले परीक्षण केन्द्र सञ्चालनका लागि बोर्डले प्राविधिक सहयोग गर्ने बताए । उनले भारतले नेपाली चिया रोक्ने काम पटक–पटक गर्दा नेपाली चियाको बजार अन्योलमा परेपछि चाइनामा चियाको बजार खोज्ने काम भइरहेको जानकारी दिए । ‘हामी भारतको मात्र भर पर्नु हुन्न, गुणस्तर सुधारेर विश्व बजारमा नेपाली चिया लैजानु पर्छ,’ निर्देशक खनालले भने ।

 

तपाईको प्रतिक्रिया