Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

भैरहवा, २६ मंसिर २०८१ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न आरोपमा प्रहरी जवानसहित तीन जना पक्राउ परेका छन्। भैरहवा विमानस्थलमा सुन तस्करी संग्लन आरोपमा प्रहरी र विमानस्थलका कर्मचारी नै पक्राउ परेको यो पहिलो घटना हो।

गत मंसिर २३ गते दुबईबाट फ्लाइ दुबईको विमानमा भैरहवा आएको एक यात्रुले ल्याएको १५० ग्राम सुनसहित संलग्न प्रहरी जवानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको बुझाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार अधिकृत पवित्रा ज्ञवालीले जानकारी दिइन्।

पक्राउ परेका आरोपीहरुको नाम विमानस्थल भन्सार कार्यालयले खुलाउन चाहेन। तर, स्रोतका अनुसार पक्राउ पर्नेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान बाबुलाल विक, विमानस्थल कार्यालय सहयोगी (स्विपर) रुपन्देही मायादेवी गाउँपालिका–२ का राजन यादव र दुबईबाट आएका यात्रु लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनार्दन गुप्ता रहेका छन्।

‘विमानस्थलको अन्य क्षेत्रमा ड्युटी भएको जवान विकको गतिविधि शंकास्पद लागेपछि उनीमाथि निगरानी भएको थियो’, विमानस्थल स्रोतले अन्नपूर्णसँग भन्यो, ‘विमान आएको केही समयपछि उनको साथबाट विमानस्थलमै एक सय पचास ग्राम सुन बरामद भएको हो।’

दुबईबाट सुन लिएर आएको यात्रु गुप्ताले भन्सार क्षेत्रभन्दा पहिला नै पक्राउ परेका स्विपर यादवको सहायतामा जवान विकसम्म सुन पुर्‍याएर सहज रूपमा विमानस्थल बाहिर निस्किएका थिए। जसपछि विमानस्थल प्रहरीले जवान विकलाई सुनसहित र विमानस्थल बाहिर पुगेका गुप्तालाई पक्राउ गरेको थियो।

पक्राउ परेका व्यक्तिहरूको कसुर अनुसारको मुद्दा दायर गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको र पक्राउ परेका व्यक्तिहरूलाई थुनामा राखिएको भन्सार अधिकृत ज्ञवालीले बताइन्।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया