Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, १३ मंसिर २०८१ । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ । भोलि ९शुक्रबार० बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।

प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

तपाईको प्रतिक्रिया