Online Bichar
आइतबार, बैशाख ०७, २०८२ | Sunday, April 20, 2025

झापा, ८ कार्तिक २०८१ । दुर्घटनापछि तनावग्रस्त बनेको कमल गाउँपालिकाको केर्खामा १२ जना घाइते भएका छन् । प्रहरीतर्फ १० जना र सर्वसाधारणतर्फ दुईजना घाइते भएका हुन् । आक्रोशित स्थानीयहरुले ढुङ्गा प्रहार गर्दा डिउटीमा खटिएका प्रहरीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेहरूमा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ५ जना रहेका छन् । ढुङ्गाले लागेर घाइते हुनेहरूमा नेपाल प्रहरीतर्फ प्रहरी सहायक हवल्दार नवीन गडतौला (दाहिने खुट्टामा चोट, अवस्था सामान्य),प्रहरी सहायक हवल्दार सुमित्रा कार्की (नाकमा चोट , अवस्था सामान्य), प्रहरी जवान सुजन बिक(नाकमा चोट),प्रहरी सहायक निरीक्षक शिवशक्ति राई (टाउको सुन्निएको, अवस्था सामान्य) र प्रहरी सहायक हवल्दार विजय विश्वकर्मा (दाहिने खुट्टामा चोट, अवस्था बोल्न सक्ने ) रहेका छन् । त्यस्तै सशस्त्र प्रहरी बलतर्फ सशस्त्र प्रहरी हवल्दार रमेश खत्री (टाउकोमा चोट ,४ टाँका लगाएको),सशस्त्र प्रहरी जवान उपेन्द्र यादव (बायाँ खुट्टामा चोट, अवस्था सामान्य) सशस्त्र प्रहरी जवान प्रकाश चौहान (खुट्टामा चोट),सशस्त्र प्रहरी जवान महेश यादव (खुट्टामा चोट), सशस्त्र प्रहरी जवान कृष्ण भुजेल (खुट्टामा चोट) घाइते भएका छन् ।

त्यस्तै सर्वसाधारणतर्फ दुईजना घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गर्दै गरेका बुद्धशान्ति –६ बस्ने ३३ वर्षीय नवराज गौतम (बायाँ हात र कम्मरमा चोट, अवस्था सामान्य) र सोही मोटरसाइकलमा सवार उनकी श्रीमती ३२ वर्षीया कविता घिमिरे गौतम (बायाँ खुट्टा र टाउकोमा चोट, अवस्था सामान्य) घाइते भएका हुन् ।

त्यस्तै धेरै भौतिक क्षति भएको छ । आक्रोशितहरूले पूर्वपश्चिम राजमार्गमा रहेका केर्खा ट्राफिक बिट र नेपाल प्रहरी बिट जलाउँदा पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै प्रहरी चौकी केर्खामा रहेको सिसिटिभीको मनिटर ६४ इन्चको २ थान पूर्ण रुपमा फुटेको छ भने प्रहरी चौकी केर्खाको कार्यालय भवनको झ्यालको १६ वटा सिसा पूर्ण रुपमा फुटेको छ । कार्यालय कक्षको टेबल सिसा १ थान, गेटमा भएको प्रहरी चौकी केर्खा लेखिएको डिजिटल बोर्ड १ थान तोडफोड भएको छ ।

त्यस्तै कार्यालय कम्पाउन्डमा राखिएको कमल गाउँपालिकाको दमकलको अगाडीको सिसा र कार्यालय अगाडी राजमार्ग सुरक्षामा राखिएको दुई वटा सिसी क्यामेरा फुटाएका छन् । त्यस्तै प्रहरी सहायक निरीक्षक शिवशक्ति राईले बोकेर गएको डीएसएल क्यामेरा भीडले तानी तोडफोड गरेको छ । ठक्कर दिने प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको बसको अगाडीको सिसा फुटेको छ भने दायाँ र बायाँपट्टिको सिसा सबै फुटेको छ । त्यस्तै मे १ ख २७४४ नम्बरको न्यु सूर्योदय यातायातको बसको दायाँ र बायाँपट्टिको २० वटा झ्यालको सिसा फुटेको र प्रदेश १–०१–००१ ख ४०३७ नम्बरको बसको बायाँ साइडको पछाडिको २ वटा झ्यालको सिसाहरू फुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २९ सेल अश्रुग्याँस प्रहार गरेको थियो । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्याँस प्रहार गरेका हुन् । ठक्कर दिने प्र.१–०१–००१ ख ४३३१ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय झिलझिले राखिएको छ भने बस चालक शिवसताक्षी – १ बस्ने ३२ वर्षीय विशाल ठटाललाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

केर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसङ ४ बुँदे सहमति भएपछि आज बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नं को रात्रि बसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया