Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

काठमाडौं, ७ कार्तिक २०८१ । नेपाली बजारमा सुनको भाउ बढेर मंगलबार रेकर्ड कायम गरेको थियो। दसैंपछिको कारोबारमा निरन्तर बढिरहेको सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा आज भने सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला सुन १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ३ सय बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुन १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज २ सय घटेर प्रतितोला १ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुनको मूल्यसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको थियो। मंगलबार चाँदी प्रतितोला २१ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि चाँदीको मूल्य भने बढेर २१ सय ३५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा नेपाली बजारमा त्यसको प्रभाव परेको विज्ञहरू बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स करिब २७ सय अमेरिकी डलर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको हो।

तपाईको प्रतिक्रिया