विराटनगर, १४ भदौ २०८१ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारबाट बाहिरिएको १ महिनापछि शुक्रबार माओवादीले समर्थन पनि फिर्ता लिने भएको हो । कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ ।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन यथावत राखेको थियो । आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।
बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । उनका अनुसार यसअघि सरकारबाट पार्टी बाहिरिएको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखिएको थियो ।
माओवादी संसदीय दलको बैठक आज बस्दैछ । ‘दलको बैठकपछि सरकारको समर्थन फिर्ता लिन्छौं,’आङ्बोले भने,‘समर्थन फिर्ता लिएर माओवादी प्रतिपक्षमा बस्छ ।’ यता कांग्रेस भने प्रदेश सरकारमा सहभागी भएको छैन ।
आन्तरिक किचलोमा फसेको कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सरकार विस्तार अनिश्चित बनेको छ । सरकारमा नगए पनि कांग्रेसले आजको प्रदेशसभा बैठकमा भने सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ । एमाले नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादीले सहयोग गरेको थियो ।
माओवादीको समर्थनमा गत वैशाख २७ गते कार्की मुख्यमन्त्री बनेका हुन् । तर,केन्द्रमा गठबन्धन फेरबदल भएसँगै माओवादीको सत्ता सहयात्रा टुंगियो । कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि माओवादी प्रतिपक्षमा पुगेको छ ।