बुटवल,४ भदौ २०८१ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको जनजीवन प्रभावित भएको छ। प्रदेशका १२ वटै जिल्लाका अधिकांश स्थानमा भारी वर्षा भएको छ।
गएराति २ बजेदेखि लगातार रूपमा परेको वर्षाको कारण नदीहरूको जलसतह बढेको छ भने सडक तथा बस्तीसमेत जलमग्न बनेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पा, रूपन्देही, दाङ, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लामा भारी वर्षा भएको छ।
रूपन्देहीको तिनाउ, कपिलवस्तुको वाणगंगा, दाङको राप्ती, बबई नदी तथा आसपासका सहायक नदी र स-साना खोलाहरूमा पानीको सतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागकाले अझै पनि वर्षा भइरहने र नदी तथा खोलाहरूको जलसतह बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
निरन्तरको वर्षाकै कारण रूपन्देहीको सैनामैना क्षेत्रमा डुबानमा परेको छ। पूर्वपश्चिम महेन्द्र राजमार्गको मुख्य सडक क्षेत्र नै डुबानमा पर्दा सवारी साधनहरू आवतजावत गर्न मुस्किल परेको छ।
ठूला सवारी साधन बल्लतल्ल आवतजावत गरे पनि साना सवारी साधनलाई भने सडक पार गर्न मुस्किल हुने गरेको छ।
सडक डुबानका कारण दिउँसो केही समय सवारी साधनको आवागमन समेत बन्द भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले सडक डुबान भएपछि दिउँसो केही समय सवारी साधनको आवागमन बन्द भए पनि अहिले सुचारू भएको जानकारी दिए।
सडक डुबान भएपछि सैनामैना क्षेत्रका अधिकांश विद्यालयहरू बन्द गरिएका थिए। वर्षाका कारण रूपन्देहीमा अहिलेसम्म कुनै क्षति भने नभएको प्रहरी प्रवक्ता भट्टले बताए। प्रदेशका अधिकांश स्थानमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ।
यता अविरल वर्षाका कारण झरेको पहिरोले घरगोठ बगाउँदा अर्घाखाँचीको शितगंगामा एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नं. १३, सिमलपानीमा २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको प्रहरीले बताएको छ।
पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापा पहिरोमा पुरिएका थिए। उनको घटनास्थलमै थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए।
पहिरोले गोठमा रहेको एउटा भैंसीका पाडो र दुई वटा बाख्रा समेत च्यापिएर मरेको प्रहरीले बताएको छ।