झापा, २७ साउन २०८१ । भरुवा बन्दुक र चोरीका सामानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडा बस्ने इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी गरेका तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-४ वस्ने १९ वर्षिय आदित्य लिम्बु, २२ वर्षिय छिरिङ तामाङ र २१ वर्षिय निखिल तामाङ रहेका छन् ।
शुक्रबार रातीको अन्दाजी १०ः१० बजेको समयमा पसलमा ताला फुटाई नगद लगायत सरसामानहरु चोरी गरेको भन्ने खबर शनिबार प्राप्त गर्नसाथ प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटि गई चोरी गर्ने व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा अर्जुनधारा नगरपालिका-४ देवान चोक स्थितमा पक्राउ परेका ३ जना शंकास्पद अवस्थामा फेला परेका थिए ।
पक्राउ परेका आदित्य लिम्बुको साथबाट १ थान चांदिको सिक्री, नेपाल टेलीकमको रु.५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चांदिको औठी २ थान, चांदिको पाउजु २ थान र चांदिको सिक्री १ थान, एनसेल कम्पनीको रु.५० दरको रिचार्ज कार्ड ५ थान र निखिल तामाङको साथबाट चांदीको सिक्री १ थान साथै चोरी गर्दा प्रयोग भएको खुकुरी १ थान किराना पसलबाट बरामद गरिएको जनाइएको छ । यस्तै, छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ थान भरुवा बन्दुक फेला पारी इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।