Online Bichar
शनिबार, माघ २६, २०८१ | Saturday, February 8, 2025

काठमाडौँ, १४ साउन २०८१ । आर्थिक वर्ष ०८०/८१ मा स्वदेशी तथा विदेशी गरी ४३४ वटा उद्योग दर्ता भएको छ । उद्योग विभागका अनुसार ४९ ठूला, ५२ वटा मझौता र ३३३ वटा साना उद्योग दर्ता भएको हो ।

विभागका अनुसार ४३४ वटा उद्योगमा २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ती उद्योगहरुमा २५ हजार ५५१ जनालाई रोजगारी दिने प्रस्तावित गरिएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा ४ सय २ वटा परियोजनामा प्रत्यक्ष विदेशी लगानी स्वीकृत भएको छ । ती उद्योगमा ६१ अर्ब ७८ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको विभागको तथ्यांक छ ।

यसैबीच आर्थिक वर्ष २०८०/८१ मा लगानी बोर्डले ९ वटा परियोजनामा दुई खर्ब एकहत्तर अर्ब छब्बीस करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ । रोल्वालिङ खोला जलविद्युत् परियोजना (२२ मेगावाट) ७ अर्ब ९३ करोड रुपैयाँ, छुजुंग खोला जलविद्युत् आयोजना (६३ मेगावाट) ९ अर्ब ३० करोड, दाना खोला जलविद्युत् परियोजना (४९.९५ मेगावाट) ९ अर्ब ६८ करोड, सानीभेरी जलविद्युत् परियोजना (४४.५२ मेगावाट) ९ अर्ब ४६ करोड रुपैयाँ लगानी स्विकृत भएको हो ।

माथिल्लो कर्णाली जलविद्युत् परियोजना (९ सय मेगावाट) १ खर्ब ६२ अर्ब ४९ करोड, सुपर तमोर जलविद्युत् परियोजना (१६६ मेगावाट) ३४ अर्ब ५९ करोड, अपर मोदी एक जलविद्युत् परियोजना (४२ मेगावाट) १० अर्ब ८ करोड, सौर्य ऊर्जा परियोजना (२५० मेगावाट कोहलपुर तथा वाणगंगा) २१ अर्ब १० करोड र ह्वासिन सिमेन्ट (लगानी वृद्धि) ६ अर्ब ६३ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको हो ।

तपाईको प्रतिक्रिया