Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

विराटनगर, २ साउन २०८१ । विराटनगरमा प्रहरीको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ।

मुस्लिम समुदायको मोहरम पर्वको कार्यक्रमको सुरक्षामा थप मद्धतका लागि प्रहरी लिएर विराटनगरको रानीतर्फ जाँदै गरेको गाडी साँझ ५:४० बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परेको ना १ ग २५५९ नम्बरको गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार थप मद्धतका लागि तालिम केन्द्रबाटै प्रहरी लगिएको थियो। विराटनगर महानगरपालिका-१५ भट्टी मोडमा घुमाउने क्रममा आफैं अनियन्त्रित भएर गाडी पल्टिएको जानकारी उनले दिए। दुर्घटनामा परेर घाइते भएकामध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझाको अवस्था गम्भीर छ।

गम्भीर अवस्थाका घाइतेको न्युरो अस्पतालमा उपचार भइरहेको एसएसपी दाहालले बताए। उनका अनुसार सामान्य अवस्थाका घाइतेको कोशी र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेहरु सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको जानकारी दाहालले दिए। उनले घटनाको अनुसन्धान भइरहेको बताए।

 

तपाईको प्रतिक्रिया