Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

गौरादह, ७ असार । गौरादह नगरपालिकाको १४औं नगरसभाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाको सभाहलमा आ.ब. २०८१/०८२ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा किसानका समस्यालाई समाधान हुने गरि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको भनिएको छ । नगर प्रमुख छत्रपति सुवेदीको अनुमतिमा नगर उपप्रमुख जलबर्षा राजवंशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा किसानलाई उत्पादन बृद्धिमा सहयोग गर्न सिंचाइका लागि प्रयोग गरिएका बिधुत मिटरको महसुलमा अनुदान दिने बिशेष नीतिलाई समेटिएको छ ।

उन्नत जातका बिउबिजन किसान समक्ष समयमा उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेट्दै किसानले उत्पादन गरेको अन्न बालीलाई कृषि सहकारीलाई प्रबर्द्धन गरि उत्पादनलाई मूल्य श्रृङखलाका आधारमा बजार सँग आबद्ध गर्न नीति तथा कार्यक्रममा समेटिएको छ । स्थानीय सरकारले किसानका समस्या प्रति उत्तरदायित्व बहन गर्न कृषि प्राबिधिक खेतबारीमा र पशुपंक्षी प्राबिधिक गोठमा पुगी सेवा उपलब्ध गराई किसानलाई राहात उपलब्ध गराउने समेतमा जोडदिइएको छ ।

नगरपालिकाले आन्तरिक आम्दानी बढाउने उदेश्यले कर तिर्ने वातावरण बनाउने विभिन्न रणनीति अपनाएको छ । नगर भित्र बसोबास गर्ने अधिकांश नागरिक कृषि पेशामा आबद्ध रहेपनि कृषि पेसाबाट धेरै ठुलो उपलब्धि हाँसिल नगरे पनि आगामी आर्थिक बर्षमा राहातको आस्वासन देखाउदै कर असुलीलाई पनि प्राथमिकतामा राखेको देखिन्छ । समयमै कर तिर्नेलाई छुट र ढिलो गरेमा जरिवाना गराउने नीति कार्यक्रममा समेटिएको छ । गौरादह नगरपालिका भित्र रहेका पर्यटन बिकासका संभावनालाई मध्यनजर गरि सम्भब्यताको अध्यन गरि प्रबर्द्धन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

गौरादहमा रहेका ठुला पोखरीलाई पुनर्निर्माण गरि पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न प्रक्रिया अगाडि बढिसकेको र अन्य सम्भावित क्षेत्रको अध्यान गरि प्रक्रिया अगाडि बढाईने नीति तथा कार्यक्रममा समेटिएको छ । नीति तथा कार्यक्रममा भौतिक तथा पुर्वाधार बिकास अन्तर्गत अधुरा रहेका सडकलाई कालोपत्रे गरिने। हाल निर्माणको प्रक्रियामा रहेका सडकलाई आगामी आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । नगर भित्र रहेका खोलाहरुमा पुलको अभावमा आवतजावतमा समस्या भएका स्थानमा झोलुङगे पुल तथा कल्भर्ट निर्माण कार्यलाई सम्बन्धित निकायमा पहल गरि निरन्तरता दिने नीति तथा कार्यक्रममा समेटिएको छ।

नीति तथा कार्यक्रममा भवन तथा संरचना, पशुपंक्षी बिकास, सहकारी तथा गरिबी, उद्योग, श्रम, तथा रोजगारी श्रृजना, भुमि व्यवस्था, सामाजिक बिकास, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा जेष्ठ नागरिक, बन, वातावरण, विपद तथा फोहोर मैला व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा प्रवाह र क्षमता विकासका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ।

निति तथा कार्यक्रममा स्वागत गर्दै गौरादह नगर प्रवक्ता नगेन्द्र भण्डारीले नगरवासीबाट छनौट भएर आएका कार्यक्रमहरुलाई समेटेर नगरको बिकास गर्न नीति तथा कार्यक्रम प्रस्तुत जानकारी गराएका थिए। आगामी आर्थिक बर्षमा नगरको बिकासका लाग गरिने कामहरुलाई समेटेर नीति तथा कार्यक्रममा ल्याइएको प्रवक्ता भण्डारीले बताएका छन्।

तपाईको प्रतिक्रिया