Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

बुटवल, ७ असार २०८१ । आगलागीले ध्वस्त भएको बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको डेल्टा मार्टमा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालकले दावी गरेका छन्। मार्टका सञ्चालक घनश्याम पाठकले आगलागीबाट ५० करोड बढीको क्षति भएको बताए।

बिहीबार साँझ ६ बजेदेखि लागेको आगो आठ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । विद्युत्त सर्ट भएर मार्टको चार तलामा आगो लागेको थियो । नियन्त्रणमा लिन नसकेपछि भूँइतलासम्मै आगो सल्किएर भित्रका सवै सामानहरू जलेर नष्ट भएका छन् ।
मार्टभित्र शैक्षिक सामग्री, जुत्ताचप्पल, लत्ताकपडालगायतका थिए ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासहित छिमेकी जिल्लाका दमकलहर पनि प्रयोग भएका थिए । तर, मार्टको क्षति जोगाउन सकिएन् । दमकल, प्रहरी, नेपाली सेना, शसस्त्र र स्थानीयबासीको सक्रियताले घनाबस्तीकै बीचमा लागेको आगो अन्यत्र फैलिन पाएन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका,सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका सहित नवलपरासीको बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा नगरपालिका,नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट गरी कूल १३ वटा दमकल आगो नियन्त्रणमा प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए ।

पाँच वर्ष अघिदेखि सञ्चालन गरिएको मार्टमा दुई सय जना बढीले प्रत्यक्ष रोजगारी पाएका थिए ।

तपाईको प्रतिक्रिया