Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठ्माडौं, २८ जेठ २०८१ । नेपालमा मनसुन भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै नेपालमा मनसुन भित्रिएको जानकारी गराएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेशका भूभागहरूमा मनसुनको प्रभाव छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार कोशी प्रदेशको पूर्वी भूभागहरुमा मनसुनको प्रभाव देखिएको हो।

‘हामीले तीन दिन अवलोकन गर्दा क्राइटेरिया पूरा भएपछि मनसुन आएको घोषणा गरेका हौं,’ उनले भने।

तर कोशी प्रदेशको पनि सम्पूर्ण भूभागहरूमा मनसुनले कभर नगरेको उनले बताए। ‘अहिले सुदूरपूर्वी भूभागहरू मनसुनको प्रभाव छ,’ उनले भने।

सामान्यतया नेपालमा मनसुन भित्रने दिन जुन १३ मानिन्छ। यसपालि केही चाँडो मनसुन भित्रने भनिएको थियो।

पूर्वी भूभागहरूबाट मनसुन भित्रिएपनि पश्चिमी भूभागमा अत्यधिक गर्मी छ।

काठमाडौंमै आइतबार र सोमबार अत्यधिक गर्मी छ। पश्चिम तराईका भूभागहरूमा तातो हावा नै चलेको छ।

पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तातो हावा चल्ने सम्भावना रहेको मौसमविद अधिकारीले बताए।

पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन कम्तिमा पाँच दिन लाग्छ।

तर पश्चिमी भूभागहरूमा अहिलेको मौसम हेर्दा मनसुन देशभर फैलन केही बढी समय लाग्न सक्नेछ।

मनसुन अहिले विस्तारै पूर्वबाट पश्चिमी भूभागहरूमा बढ्दै गरेको मौसमविद अधिकारीले बताए।

यसपालि मनसुनको अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन मौसम विज्ञान विभागले गरेको छ।

अघिल्लो वर्ष जेठ १८ देखि असोज १३ गतेसम्मको अवधिमा १ हजार ३०३।० मिलिमिटर वर्षा भएको थियो।

चार महिनाको अवधिमा १ हजार ४७२ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा सरदरभन्दा ११।५ प्रतिशत कम मिलिमिटर वर्षा भएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनजन्य विपदबाट १८ लाख जना नागरिक प्रभावित हुने आकलन गरेको छ।

प्राधिकरणले ४ लाख १२ हजार घरधुरी कुनै न कुनै हिसाबले प्रभावित हुन सक्ने अनुमान गरेको छ।

बंगालको खाडीबाट होइन सोमालियादेखि आउँछ नेपालमा मनसुन

म्यानमार र दक्षिण एसियाका सात मुलुकले देशको अर्थतन्त्र चलाउन आ(आफ्नै अर्थमन्त्री नियुक्त गर्छन्। तीमध्ये केहीले अर्थतन्त्रलाई उभो लगाउँछन्, केहीले अर्थतन्त्रमा कुनै सुधार ल्याउन सक्दैनन्। कहिलेकाँही बिगार्छन्।

केही वर्षमा यी मुलुकका अर्थमन्त्री फेरिइरहन्छन्। तपाईंलाई थाहा छ, यो क्षेत्रमा कहिल्यै पनि नफेरिने अर्थमन्त्री पनि छ। जसले बजेट भाषण गर्दैन तर यो क्षेत्रका सबै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्छ।

युगौंदेखि निरन्तर आफ्नो जिम्मेवारी बहन गरिरहेको यो अर्थमन्त्री हो- मनसुन।

नेपालको सन्दर्भमा त अर्थमन्त्रीभन्दा बढी भूमिका मनसुनको हुन्छ।

नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत छ। त्यसैले नेपाली अर्थतन्त्रको वृद्धिदर धेरै हदसम्म मनसुनले नै निर्धारण गर्छ। मनसुन समयमै आए बालीनाली सप्रिन्छ। खाद्यान्न उत्पादन बढ्छ। त्यसले देशको कुल ग्राहस्थ उत्पादन बढाउँछ।

मनसुनले बालीनालीको उत्पादकत्वमात्र बढाउँदैन धेरै पानी पर्दा कुलेखानीजस्ता बाँधयुक्त आयोजनामा पानी भरिन्छ। रनअफ दी रिभरमा चल्ने आयोजनामा पनि बिजुली धेरै निस्कन्छ। बिजुली भयो भने कलकारखानाले धेरै उत्पादन गर्छन्। अर्थतन्त्र चलायमान हुन्छ।

यति महत्वपूर्ण भूमिका भएको मनसुन नेपालमा आइपुग्छ कहाँबाट?

धेरैले भन्छन्-बंगालको खाडीबाट आउँछ।

यो सतप्रतिशत सही होइन। बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन। बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ। भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरू हुन्छ, नेपाल आइपुग्ने मनसुन।

त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ।

पूर्वीअफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावाबारे बुझ्नुपर्छ।

भूमध्यरेखालाई आधार मानेर पृथ्वी दुई ध्रुवमा बाँडिएको छ। उत्तरी र दक्षिणी गोलार्द्धमा जमिनको सतहदेखि निकैमाथि हावाको मुस्लो पश्चिमबाट पूर्वतिर निरन्तर घुमिरहेको हुन्छ। त्यो हावाको मुस्लोलाई जेट स्ट्रिम भनिन्छ। दोस्रो विश्वयुद्धताका विमान चालकहरूले जेट स्ट्रिम हुन्छ भन्ने पत्ता पाएका थिए। एउटा ध्रुवमा तीन वटासम्म यस्ता जेट स्ट्रिम हुन्छन्। जेट स्ट्रिमले निरन्तर प्रतिसेकेन्ड ९० मिटरको हिसाबले पृथ्वीलाई चक्कर लगाइरहेका हुन्छन्। मौसमअनुसार यिनीहरूको गति र ठाउँ भने फरक(फरक भइरहन्छ।

दुबै ध्रुव नजिकै बहने जेट स्ट्रिमलाई पोलार जेट भनिन्छ। ध्रुवबाट तल एउटा अर्को जेट स्ट्रिम हुन्छ जसलाई सबट्रपिकल जेट स्ट्रिम भनिन्छ।

चिसोमा यिनीहरू भूमध्यरेखातिर सर्दैसर्दै आउँछन् भने गर्मीमा ध्रुवतिर फर्किन्छन्।

जल तथा मौसम विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार गर्मीमा त्यही दक्षिण गोलार्द्धको सवट्रपिकल जेट स्ट्रिमनजिकै तल्लो तहतिर नयाँ जेट स्ट्रिम बन्छ। जुन भूमध्यरेखाको आसपासमा रहेको अफ्रिकी मुलुक सोमालिया नजिक हुन्छ।

‘सोमालिया नजिकको समुद्रमा बन्ने भएकाले यसलाई सोमाली जेट स्ट्रिम भनिन्छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘सोमालियाबाट उत्तरपूर्वको बाटो समातेर हिन्द महासागर हुँदै करिब साता दिनमा भारतको केरला आइपुग्छ।’

नेपालमा पानी पार्ने मनसुन जुन महिनाको दोस्रो साताबाट सुरू हुन्छ। मौसम विभागले पछिल्लो तीस वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ।

केरलाबाट पनि मनसुन सिधै नेपाल आउँदैन।

केरलाबाट यो दुईतिर बाँडिन्छ।

एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न। अर्को समुद्र हुँदै बंगालको खाडी आइपुग्छ। यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ।

बंगालको खाडी आएको मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन। त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायूले बाटो खाली गरिदिनु पर्छ।

नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ। पश्चिमी वायू उत्तर नसरेसम्म मनसुनको केही चल्दैन।

‘ऊ कि त उतै केरला रोकिएर बस्छ नभए बंगालको खाडीबाट यहाँ आउन खोजे पनि सक्दैन,’ मानन्धरले भनिन्,‘अप्रिल र मेमा नेपालमा यी दुई वायूको झगडा नै पर्छ।’

हावाको झगडा, किन नि?

‘दुबैका विशेषता फरक-फरक छन्। एउटा माथिबाट आउँछ सुख्खा हुन्छ, कम पानी पार्छ। अर्को तलबाट आउँछ धेरै जलवाष्प ल्याएको हुन्छ,’ मानन्धरले भनिन्,‘यो झगडामा मनसुन जति बलियो र पश्चिमी वायु जति कमजोर भयो हामीलाई त्यति फाइदा हुन्छ। नत्र पूर्वमा आएको मनसुन पनि पश्चिमतिर सर्नै सक्दैन।’

पश्चिमी वायुसँगको लडाइँमा मनसुनलाई तिब्बती पठारले पनि साथ दिनुपर्छ।

गर्मी सुरू भएसँगै सबट्रपिकल जेट स्ट्रिम ध्रुवतिर सर्छ। यसरी त्यो चिसो तर सुख्खा वायुमाथि सरेर चर्को घाम लागेपछि तिब्बती पठारको हावा तात्छ र माथि जान्छ। कुनै ठाउँमा सतहको हावा तातेर माथि गई बादल बन्यो भने त्यसलाई न्यून चापीय प्रणाली भनिन्छ।

‘गर्मीमा त्यस्ता न्यूनचापीय रेखा तिब्बतमाथि दिन्दिनै बनिरहेको हुन्छन्। तिब्बतमा जति छिटो न्यून चापीय प्रणाली बन्यो नेपालमा त्यति नै छिटो मनसुन पस्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘तिब्बतमा खाली भएको त्यही ठाउँमा पुग्न मनसुनी वायु बंगालको खाडीबाट उकालो लाग्छ तर हिमालले छेक्ने भएकाले त्यो पारि जान सक्दैन। यतै झर्छ।’

कुनै मनसुनमा धेरै पानी पर्छ कुनैमा थोरै। त्यसमा मनसुन र पश्चिमी वायुसँगै प्रशान्त महासागरमा हुने दुई मौसमी घटनाको पनि भूमिका हुन्छ।

प्रशान्त महासागरमा एसियातिर र अमेरिकातिर दुई त्यस्ता ठाउँ छन् जहाँको पानी चिसो र तातो हुँदा विश्वभरिको मौसम असर पार्छ। महासागरको सतहको पानी औसतभन्दा चिसो र तातो हुने प्रक्रियालाई लालिनो र एललिनो भनिन्छ।

स्पेनिस भाषामा लालिनो भनेको सानी केटी हो। प्रशान्त महासागरको ‘ट्रेड विन्ड’ बहने ठाउँमा कहिले एसियातिर त कहिले अमेरिकातिर लालिनो हुन्छ। लालिनो हुँदा त्यो ठाउँको पानी औसतभन्दा चिसो हुन्छ।

स्पेनिसमा एललिनोको अर्थचाहिँ सानो केटो हो। एललिनो हुँदा सतहको पानी औसतभन्दा तातो हुन्छ। एललिनो हुन्छ भने सन् १६००मा दक्षिण अमेरिकाका माझीहरूले पत्ता लगाएका थिए।

‘प्रशान्त महासागरमा लालिनो र एललिनो हुने प्रक्रिया दुईदेखि सात वर्षमा दोहोरिरहन्छ,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रो मनसुनका लागि भने एसियातिर लालिनो भएको राम्रो। किनकी त्यसले मनुसनलाई सहयोग पुग्छ।’

यी विभिन्न अवस्थालाई अध्ययन गरेर विभागले कुन वर्षको मौसम कस्तो हुन्छ भन्ने अनुमान गर्छ।

‘यसपालि पूर्वी क्षेत्रमा औसतभन्दा कम र पश्चिमी नेपालमा औसत मनसुनी पानी पर्ने सम्भावना छ,’ मानन्धरले भनिन्।

संसारमा दुई दर्जनभन्दा बढी मनसुन छन्। बाह्रै महिना संसारभर कहिँ न कहिँ मनसुन चलिरहेको हुन्छ। ब्राजिललगायत देशमा पानी पार्ने साउथ अमेरिकन मनसुन सेप्टेम्बरमा सुरू हुन्छ भने दक्षिण पूर्वी अफ्रिकाको मनसुन जनवरीमा सुरू भएर मार्चमा सकिन्छ।

‘तर यी कुनै पनि मनसुन सोमालियाबाट आउने मनसुनजस्ता भर पर्दा हुँदैनन्, कहिले आउँछन्, कहिले सकिन्छन्, टुंगो हुँदैन,’ मौसमविद् मानन्धरले भनिन्,‘हाम्रोमा आउने मनसुन यति ज्ञानी छ कि हजारौं वर्षदेखि भनेकै बेला आउँछ र फर्केर जान्छ।

तपाईको प्रतिक्रिया