Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौं, २६ जेठ २०८१ । सरकारले चालु आर्थिक वर्षमा १८३ वटा फर्म तथा कम्पनीलाई स्टार्टअप उद्यम कर्जा दिने भएको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जाका लागि सिफारिस भएका परियोजना र प्रस्तावकको सूची सार्वजनिक गरेको हो। सिफारिस भएका फर्म तथा कम्पनीले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको ठेगाना जेठ २९ गतेभित्र प्रकाशन गरिने प्रतिष्ठानले जनाएको छ।

सिफारिसमा परेका उद्यमीले आवश्यक कागजपत्रसहित ३० दिनभित्र तोकिएको बैंक शाखामा सम्पर्क गरी कर्जा लिन सक्नेछन्। तोकिएको समयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले गत माघ १९ देखि फागुन १० सम्म स्टार्टअप उद्यम कर्जाका लागि मागेको प्रस्तावमा १ हजार ६५८ उद्यमीले प्रस्ताव दर्ता गराएका थिए। त्यसमध्येबाट पहिलो चरणमा ३९४ परियोजना छानिएको थियो। छनोटमध्ये पनि ३३५ परियोजना प्रस्तावकले मात्र प्रस्तुति दिएको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले जानकारी दिए।

अन्तिम चरणको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अंकभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि १८३ कम्पनीलाई सिफारिस गरेको उनले बताए । छनोट भएका कम्पनीले ३ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।

यो कर्जा दुई वर्षभित्र तिर्न शुरु गरी पाँच वर्षभित्र चुक्ता गर्नुपर्ने नियम छ। तोकिएको समयमा सावाँ र ब्याज भुक्तानी नगरेमा कार्यविधि अनुसार कारबाही गर्ने प्रतिष्ठानले जनाएको छ।

 

तपाईको प्रतिक्रिया