कचनकवल, १३ जेठ २०८१ । झापाको कचनकवलस्थित पथरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईँविरुद्ध उजुरी परेको छ । गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्रधानाध्यापक गुरागाईँविरुद्ध कचनकवल गाउँपालिकामा उजुरी परेको हो । गुरागाईँलाई पथरिया माविमा केन्द्राध्यक्षको जिम्मेवारी दिइएको थियो ।
गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई सम्बोधन गरिएको उजुरी पत्रमा भनिएको छ, यस कचनकवल गाउँपालिका-३ स्थित पथरिया माविमा विगत लामो समयदेखि एसइई परीक्षा केन्द्रको रुपमा रहँदै आएको छ । भर्खरै सकिएको एसइई परीक्षा त्यहाँ सञ्चालन भएको थियो ।
एसइई जस्तो संवेदनशील र महत्त्वपूर्ण परीक्षालाई बेबस्ता गर्दै केन्द्राध्यक्ष गुरागाईँले गत चैत २६ गते हुने परीक्षाको उत्तर पुस्तिकामा चैत २५ गते हस्ताक्षर गरी परीक्षाको सम्पूर्ण जिम्मेवारी विद्यालयका कर्मचारी प्रदीप खनाललाई दिएका थिए । केन्द्राध्यक्ष गुरागाईँले कर्मचारीलाई जिम्मेवारी दिएर चैत २५ गते नै सोही विद्यालयका शिक्षकहरूसहित भारत भ्रमण निस्किएको भन्ने उजुरी गाउँपालिकामा परेको जनाइएको छ।
केन्द्राध्यक्षले एसइई परीक्षा जस्तो संवेदनशील विषयमा लापरबाही गरिएकोले परीक्षाको वैधतामाथि प्रश्न उब्जिएकाले शिक्षा ऐन बमोजिम कारबाहीको माग गरिएको भन्दै उजुरी परेसँगै गाउँपालिकाले शिक्षा समितिमा त्यसबारेमा छलफल गरिसकेको शिक्षा शाखा प्रमुख मनिता बरालले बताइन् । छलफलमा उनीमाथि कारबाही प्रक्रिया अघि बढाउन छानबिन समिति गठन गरिसकेको उनले बताइन् ।