Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठ्माडौं, ९ जेठ २०८१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ।

मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलन गरी सातै प्रदेशमा मेला आयोजना हुने जानकारी दिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय र वडासम्म पनि पुर्‍याउन सकिने बताए।

मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको अर्यालले बताए।

‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन्। त्यसैगरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउन सक्नेछन्,’उनले भने।

मेला आगामी जेठ १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ।

मेला हरेक प्रदेशमा २ दिन चल्नेछ। मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरूबीच मध्यस्थताको काम गर्ने मन्त्री अर्यालको दाबी छ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरूको पनि सहभागिता रहनेछ।

साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ।

सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघको पनि मेलामा स्टल राखिनेछ।

मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ।

मधेश प्रदेशको वीरगञ्जमा १९ र २० गते सञ्चालन हुनेछ। गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ।

लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ।

 

तपाईको प्रतिक्रिया