बिराटनगर, ६ जेठ २०८१ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वाधानमा संचालन हुने ७ दिने “पर्यटक प्रहरी अनुशिक्षण” तालिम प्रथम समूहको उद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना बीच आइतबार उक्त तालिमको समुद्घाटन भएको हो ।
तालिमको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सापकोटाले बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकिय स्थल रहेको कोशी प्रदेशमा पर्यटनको लागि सयौँको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकको आवागमन हुने हुँदा आवश्यक सुरक्षा लगायत विविध दृष्टिकोणले सहजिकरणको लागि पर्यटक प्रहरी परिचालन गर्नुपर्ने आवश्यक रहेको बताउँदै कोशी प्रदेशमा हालसम्म पर्यटक प्रहरी झापा र सोलुखुम्बु, जिल्लामा मात्र रहेको हुँदा अन्य स्थलहरुमा समेत पर्यटक प्रहरी खटाउन अत्यावश्यक रहेको बताए।
साथै उनले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई कडा परिश्रम गर्दै यस अनुशिक्षणमा सिकाईएका कुराहरुलाई कार्य क्षेत्रमा ब्यबहारमा लागु गरी त्रुटि रहि तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिए । ३१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको उद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बिराटनगरका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।