Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

पर्वत, २ जेठ २०८१ । कास्कीको पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगीसम्बन्धी कसुरमा आठ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार सहकारीका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको, अपचलन एवं ठगी गरेको लगायतका विषयमा उजुरी परेको थियो।

पक्राउ परेकाहरूमा सहकारीका निवर्तमान अध्यक्ष पोखरा महानगरपालिका–४ गैह्रापाटनका ६६ वर्षिय निदेश प्रसाद कोइराला, वर्तमान अध्यक्ष पोखरा महानगरपालिका–१४ चाउथेका ४३ वर्षिय शङ्कर कार्की, व्यवस्थापक पोखरा महानगरपालिका–११ रानीपौवाकी ३६ वर्षिया निरु थापा के।सी। कर्मचारी प्रमुख पोखरा–२७ अर्चलेका ३७ वर्षिय सुरेन्द्र मणी पौडेल रहेका छन्। यस्तै कानुनी सल्लाहकार पोखरा–१३ आर्वाका ५३ वर्षिय इन्द्र प्रसाद बराल, पूर्व कोषाध्यक्ष पोखरा–३० शिशुवाका ५२ वर्षिय कुलदिप भट्टराई, कर्जा अधिकृत शिशुवाकै ३० वर्षिय सुनिल थापा र सेयर सदस्य एवं सल्लाहकार पोखरा–८ नयाँ बजारका ६९ वर्षिय मान बहादुर गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन्।

सहकारी रजिस्ट्रारको कार्यालय पोखराको जाहेरीको आधारमा कुल बिगो एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ रुपैयाँ अपचलन तथा हिनामिना गरेकोले सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरिदिन प्रहरीमा निवेदन परेको थियो। सहकारी रजिस्ट्रारको कार्यालयले मङ्गलवार पत्र पठाएर प्रहरीमा अनुरोध गरेकोमा प्रहरीले मङ्गलवार नै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यसअघि प्रहरीले उक्त सहकारीमा रकम जम्मा गरेका बचत कर्ताहरूलाई उजुरी गर्न आउनको लागि समेत आह्वान गरिसकेको छ। सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयर धनी प्रमाणपत्र, पास बुक, भौचर, मुद्दती प्रमाणपत्र लगायतका प्रमाण र सम्बन्धित पीडित बचत कर्ताको नागरिकताको प्रमाणपत्र प्रतिलिपि लगायत परिचय खुल्ने कागज सहित सहकारी ठगी शीर्षकमा उजुरी दिन आह्वान गरेको छ।

मुद्दाको हदम्यादलाई मध्यनजर गर्दै पीडित बचतकर्ताहरूले जेठ २० गतेभित्रमा जाहेरी दरखास्त पेस गर्न पनि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ।

सहकारीमा करिब दुई हजार तीन सय जना बचतकर्ताहरू छन्। छानबिनका क्रममा ५५ जनाभन्दा बढी दोषी देखिएका छन्। तीमध्ये केही व्यक्तिहरू पक्राउ परिसकेका छन्। यसमा मुछिएका अन्य व्यक्तिहरूलाई प्रहरीले निगरानी गरिरहेको छ। यो सहकारीको रकम अपचलनमा सहकारी रजिस्ट्रार कार्यालय गण्डकी र सहकारी विभागका उच्च पदस्थ पूर्व कर्मचारीहरू समेत मुछिएका कुरा पनि आइरहेका छन्।

 

तपाईको प्रतिक्रिया