Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

झापा, १७ चैत २०८० । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ। आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजार रुपैयाँको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ।

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री हुँदै आएको छ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रु १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो।

पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ। प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/०८१ को आठ महिनामा चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ।

आव २०७९/०८० को यही अवधिमा रु पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो। गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको यही अवधिमा ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेलको आयात घटेको छ। पेट्रोल, हवाइ इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ।रासस

तपाईको प्रतिक्रिया