Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, ८ चैत २०८० । वैदेशिक रोजगारीमा रहेर स्वास्थ्य समस्या भएकाहरुमध्ये मानसिक समस्याबारे परामर्श र सेवा लिनेको संख्या ठूलो देखिएको छ । वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि वीर अस्पतालबाट सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवामा मानसिक समस्या बताउनेको संख्या ठूलो देखिएको हो ।

चालु आर्थिक बर्ष २०८०/८१ को फागुन महिनासम्म (८ महिनाको अवधि) मा १ हजार ६ सय ३२ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । त्यसमध्ये २३५ मानसिक समस्याबारे सेवा तथा परामर्श लिएको बोर्डले जनाएको छ । पछिल्लो वर्षहरुमा विदेशमा रहेका नेपालीहरुमा मानसिक समस्या बढ्दो छ ।

बोर्डका अनुसार यो अवधिमा ४०० जना श्रमिकले सामान्य स्वास्थ्य तथा औषधी सम्बन्धी परामर्श लिएका छन् । २७३ जनालाई सर्जरी सम्बन्धी परामर्श दिइएको र १८३ अर्थोपेडिक, २१७ जनालाई ईएनटी, १२५ जनालाई छाला सम्बन्धी परामर्श दिइएको छ । १९ जनाले आँखा सम्बन्धी, ३१ जनाले दाँत सम्बन्धी, ४२ जनाले पेट सम्बन्धी, ४४ जनाले युरोलोजी सम्बन्धी र ६३ अन्य विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको तथ्यांक छ ।

यो वर्ष मलेसियाबाट ३९४, साउदी अरब ३१०, युएई १९२, कतार १७५, कुवेत १७१, कोरिया १५७, ओमान ५७, साईप्रस ५३, जापान ४०, रोमानिया ३५, बहराइन १२, जाम्बिया १०, जर्मनी ९, माल्दिभ्स ७, इराक ४, माल्टा ३, युके १० र अफ्रिकाबाट एक जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बुधबार वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका थिए ।

पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्ड मार्फत टेलिमेडिसिन सेवा शुरु गरेको हो । बोर्डले १० चैत २०७९देखि सेवा सञ्चालनमा ल्याएको थियो ।

श्रमिकले फेसबुक, ह्वाटसएप, भाइबर, ईमो लगायतका सामाजिक सञ्जालमार्फत सम्पर्क गरी यो सेवा लिन सक्ने व्यवस्था छ । टेलिमेडिसिन सेवा सम्बन्धी जानकारी लिंदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाईने बताए ।

बोर्डको सहकार्यमा वीर अस्पतालले विहान १० बजेदेखि बेलुका ६ बजेसम्म यो सेवा सञ्चालन गर्दे आएको छ । टेलिमेडिसिन सेवाका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटाइएको छ ।

प्रत्येक साताको शुक्रबार र आइतबार श्रमिकको स्वास्थ्य समस्याको आधारमा विशेषज्ञ चिकित्सक समेत उपलब्ध गराउने गरिएको छ । अहिले दैनिक औसत ७ जना श्रमिकले टेलिमेडिसिन सेवा लिइरहेका छन् ।

हालसम्म १८ वटा मुलुकमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । अस्पतालले विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया