विराटनगर, १९ माघ २०८० । कोशी प्रदेशबाट लागुऔषधसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेशको झापा, मोरङ र उदयपुर जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित बिहीवार ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा प्रहरी चौकी डाइनियाबाट खटिएको प्रहरीको टोलीले मोरङको सुनवर्षी नगरपालिका–६ झपडतल आमबारीबाट डाइनियातर्फ आउँदै गरेको प्र.१–०२–००३ ह.१२१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार मोरङको रतुवामाई नगरपालिका–१० का ५० वर्षीय महेन्द्र साह र ५० वर्षीया निरिसा देवी साहले शरीरका विभिन्न भागमा लुकाईछिपाई लैजाँदै गरेको ४ किलो ९०० ग्राम गाँजासहित अटोचालक ४५ वर्षीय लिलबहादुर कार्की समेतलाई पक्राउ गरेको हो।
यसैगरी बिहीवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको छथर गाउँपालिका–५ की ४६ बर्षीया नर्बदा लिम्बुलाई विराटनगर–१५ बाट १।१३ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।
यसका साथै बिहीवार साँझ प्रहरी चौकी बेलसोत उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले बा ४४ प ७८२७ नम्बरको मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका–३ का २७ वर्षीय करण लिम्बु र १९ वर्षीय विशाल तामाङलाई जाँच गर्ने क्रममा अवैध औषधि स्पास्पेन–२५०० चक्कीसहित नियन्त्रणमा लिएको थियो।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–३ का २२ वर्षीय कृष्णकुमार थापा र २३ वर्षीय अजय राजवंशीलाई १ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।