झापा, १६ माघ २०८० । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले झापाको दमक नगरपालिका-९ का १९ वर्षीय दिकेश मुन्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै लागु औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको मोरङ बेलबारी-२ का २४ वर्षीय दीप लिम्बुको साथबाट ८० एम्पुल निषेधित औषधिसहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरी दुहबी-५ स्थितमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को ३८ प ५४६५ नम्बरको मोटरसाइकल चालक इटहरी-५ का ४० वर्षीय दीपेश मगरलाई १९४ ट्याब्लेट निषेधित औषधी सहित पक्राउ गरेको छ । लागु औषध सहित पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।