Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

पोखरा, १४ माघ २०८० । स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार–८ काहुलेकी ५० वर्षीय चन्द्रकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

रानाका अनुसार आइतबार करिब साढे १२ बजेको समय घाँस काटेर आउने क्रममा सुनारले बिजुलीको पोल समात्न पुगेकी थिइन् । त्यही क्रममा उनलाई करेन्ट लागेको हो । घटनास्थलमै सुनारको मृत्यु भएको थियो । पुतलीबजार नगरपालिका–८ का वडाध्यक्ष ईमबहादुर सेनले पोलमै विद्युत प्रवाह भइरहेकाले मृत्यु भएको बताए । ‘उहाँ (सुनार) को हाइट पनि अग्लो होइन । घाँस पनि माथि नांगो तार नै छुने गरी पनि थिएन’, उनले भने, ‘टर्निङमै रहेको पोल छुन पुग्दा करेन्ट लागेको रैछ ।’

सेनले उक्त बाटो भएर दैनिक गाउँलेसहित विद्यार्थी आउजाउ गर्ने भएकाले पोल नफेर्दासम्म खतरा बढेको बताए । ‘अहिलेसम्म अरु भाग्यले बचेका रहेछन् भन्नुपर्‍यो । खतराको कुनै संकेत पनि छैन । विद्यार्थीलाई धेरै जोखिम बढ्यो ।’

तपाईको प्रतिक्रिया