काठमाडौं, १४ माघ २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाटै अध्यागमन अधिकारीहरू कुटिएपछि कर्मचारीका विभिन्न ट्रेड युनियनहरूले तीन दिनभित्र दोषीलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न ट्रेड युनियनहरूले सरकारसँग माग गरेका हुन्।
‘वाक थ्रुुमा सुरक्षा जाँचको विषयमा विवाद हुँदा प्रहरीले अध्यागमनका कर्मचारीमाथि कुटपिट गरेका थिए। प्रहरीबाटै कर्मचारीहरू असुरक्षित हुन थालेको भन्दै ट्रेड युनियनहरूले विरोध जनाएको हो। दोषीलाई कारबाही नगरिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि सेवा अवरुद्ध पार्ने चेतावनीसमेत दिइएको छ।
‘घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापीरूपमा कार्यालयको सेवा बन्द गर्ने लगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा जानकारी गराउँदछौं,’ ज्ञापनमा भनिएको छ।
कार्यस्थलमा सेवा प्रवाह गरिरहेका राष्ट्रसेवक कर्मचारीहरूमाथि जनताको सुरक्षाका लागि खटिएको प्रहरीबाट संगठितरूपमा भएको अमानवीय र कानुन विपरीत हुने घटनाप्रति ट्रेड युनिहरूले निन्दा र भत्सर्नासमेत गरेको छ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्चसहित अध्यक्षहरूले संयुक्तरूपमा ज्ञापन बुझाउँदै सरकारलाई दबाब दिएका हुन्।