विराटनगर, १२ माघ २०८० । मोरङको कटहरी गाउँपालिका–१ मा भारतीय नम्बरको ट्रकमा लोड गरेर ल्याइएको जुटमा शुक्रबार बिहान आगलागी भएको छ । एनएल ०२ एन २०७८ नम्बरको ट्रकमा लोड गरेर कटहरी–१ स्थित बाबा जुट मिल्समा ल्याउँदै गरेको जुटमा बिहान ९:३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारत विहार ठाकुरगंजका सुरेश अग्रवालले हैसियन नामको जुट लोड गरेर ल्याएका थिए । बाबा आयलको काँटामा नापतौल गर्ने क्रममा जेनेटरको पाइपबाट निस्किएको आगोको झिल्काबाट जुटमा अचानक आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
उनका अनुसार बोरा बनाउनका लागि भारतबाट करिब ७ मेट्रिक टन कच्चा जुट ल्याएको खुलेको छ । जुट मिल्सका कामदार, स्थानीय, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट जुटमा आंशिक क्षति पुगेको र ट्रकमा केही नभएको प्रहरीले जनाएको छ । डीएसपी दाहालका अनुसार आगलागीबाट ५६ हजार बराबरको क्षति भएको खुलेको छ ।