Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

विराटनगर, ७ माघ २०८० । मोरङको लेटाङ नगरपालिका–५ खेरुवामा आइतबार दिउँसो तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार लेटाङ बजारबाट जाँतेतर्फ जाँदै गरेको को १८ प ६२८२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दिउँसो साढे १ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार लेटाङ–२ का १८ वर्षीय जेनिस राईको मृत्यु भएको छ।

गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइपुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक लेटाङ–५ का २९ वर्षीय विजय मगर घाइते भएका छन्।

स्थानीय स्वास्थ्य संस्थामा सम्भव नभएपछि उनलाई थप उपचारका लागि न्युरो अस्पतालतर्फ नै ल्याइएको प्रहरीको भनाइ छ। दुर्घटना भएका बेला मोटरसाइकलमा तीन जना सवार रहेको जानकारी प्रहरीले प्राप्त गरेको छ।

मोटरसाइकलको बीचमा बस्ने युवकको भने पहिचान खुलेको छैन। दुर्घटनालगत्तै फरार बनेका उनी प्रहरीको सम्पर्कमा पनि पुगेका छैनन्। ‘दुर्घटना हुँदा मोटरसाइकलमा तीन जना सवार रहेको पाइएको छ। मोटरसाइकलको बीचमा बस्ने व्यक्ति दुर्घटनालगत्तै भागेको प्रत्यक्षदर्शीले बताएका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘फरार रहेकाको खोजी जारी राखिएको छ। घाइते अवस्थाका चालक उपचाररत रहेकाले थप विषय बुझ्न पाइएकै छैन।’

तर, स्थानीयले दिएको जानकारी अनुसार फरार रहेका व्यक्ति सकुशल रहेको प्रहरीको भनाइ छ। नियमविपरीत तीन जना सवार रहेको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डीएसपी दाहालका अनुसार इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया