Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

बिर्तामोड, ४ माघ २०८० । पुस्तक तथा स्टेसनरीको व्यवसाय गर्ने व्यवसायीलाई नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले नयाँ फर्म दर्ता र नवीकरणको समयसिमा तोकेको छ । महासङ्घको बुधबार बिर्तामोड स्थित कार्यालयमा भएको जिल्ला समितिको बैठकले माघ मसान्त सम्ममा नयाँ सदस्यताका लागि आव्हान गरेको हो ।

बैठकले यस अघि महासङघको सदस्यता लिएर नवीकरण गर्न छुट भएका व्यवसायीलाई पनि नवीकरणका लागि आव्हान गरेको महासङ्घका कोषाध्यक्ष दीपक खतिवडाले बताए । उनका अनुसार १ हजार ५०० बुझाएर माघ मसान्त सम्ममा नयाँ सदस्यता र नवीकरण गर्न सकिने छ । माघ मसान्त सम्ममा नयाँ सदस्यता र नवीकरण नगरे विलम्ब शुल्क लाग्ने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ । शुल्कका बारेमा महासङ्घको आगामी बैठकले निर्णय गर्ने सचिव चूडामणि घिमिरेले बताए । उनले सो अवधिमा पनि सदस्यता नलिएका गैर सदस्यलाई ०८०—०८१ को पाठ्यपुस्तक बिक्री वितरणमा कडाइ गरिने बताए ।

तोकिएको समयमा नवीकरण गरे अघिल्ला वर्षको नवीकरण गर्न छुट भएको शुल्क मिनाहा गरिने पनि नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ । सोही बैठकले महत्त्वपूर्ण अन्य चारवटा निर्णय पनि गरेको छ । झापा निर्वाचन क्षेत्र नम्बर १ धुलाबारीका सत्रुधन जैसवाललाई जिल्ला कार्यसमितिमा मनोनयन गरेको छ । उनी महासङघको क्षेत्रीय संयोजक पनि हुन् । यस्तै महासङघको गतिविधि सञ्चालन, व्यवस्थापन र कार्यसम्पादनका लागि सचिवालय समेत गठन गरिएको छ ।

अध्यक्ष विनोद सापकोटाको संयोजकत्वमा ७ सदस्यीय नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापा गठन गरिएको छ । सो समितिमा वरिष्ठ उपाध्यक्ष सुमन खनाल, उपाध्यक्ष खगेन्द्र गौतम, सचिव चूडामणि घिमिरे चयन भएका छन् । सदस्यहरूमा सत्रुधन जैसवाल, नन्दिकेसर घिमिरे, दुर्गा प्रसाद घिमिरे र सन्तोष बुढाथोकी चयन भएका छन् । आकस्मिक निर्णय वा कुनै अतिआवस्यक काम गर्नुपरेमा सचिवालयको निर्णय अनिवार्य हुने अध्यक्ष विनोद सापकोटाले बताए । यस्तै व्यवसायीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने पनि महासङ्घले जनाएको छ । तालिमको विषयमा भने सचिवालयले निर्णय गर्ने छ ।

विद्यालय हातामा हुने शैक्षिक सामाग्रीको अवैध बिक्री वितरणको नियमन गर्न झापाका १५ वटै पालिकालाई ज्ञापन पत्र बुझाउने निर्णय भएको महासङ्घ झापाले जनाएको छ । ज्ञापन पत्र पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाइने छ । पछिल्ला दिनमा आफ्ना गतिविधिलाई तीव्रता दिन थालेपछि जिल्लाका ठुला, मझौला र साना व्यवसायीले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाको प्रशंसा गर्न थालेका छन् ।

व्यवसायीक एकताका लागि जिल्लाका पुस्तक तथा स्टेसनरीका सबै व्यवसायीले महासङ्घले अघि सारेका हरेक गतिविधि र क्रियाकलापमा सक्रिय सहभागिता जनाउन महासङ्घ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष जीवन नेपालले आग्रह गरेका छन् । ‘यसका लागि महासङ्घले अघि सारेको एक महिने फर्म दर्ता र नवीकरण अभियानमा सहभागी हुन आवश्यक छ,’ उनले भने ।

 

तपाईको प्रतिक्रिया