Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

विराटनगर, ३ माघ २०८० । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो यात्रुबहाक बसले सीटी सफारीलाई ठक्कर दिँदा वृद्धा महिलाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७८३५ नम्बरको बसले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १-०१-००२ ह ११४८ नम्बरको सफारीलाई पथरीशनिश्चरे नगरपालिका-१ मा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर सफारीमा सवार तेह्रथुम घर भइ पथरीशनिश्चरे-२ मा पाहुना आएकी ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर घाइते भएकी हस्तमायालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउनसाथ दिउँसो १ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनामा सफारी चालक पथरीशनिश्चरे-२ का ५१ वर्षीय ललितकुमार गुरुङ घाइते भएका छन्। उनको पथरी अस्पतालमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए।
उनका अनुसार दुर्घटनालगत्तै बस र चालक पाँचथरको मेमेङ घर भएका ३२ वर्षीय अर्जुन राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

तपाईको प्रतिक्रिया